स्रोत नखुलेको रकम सहित युवक पक्राउ

स्रोत नखुलेको रकम सहित युवक पक्राउ

वीरगन्ज, २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको रकम सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरिया नगरपालिका वडा नम्बर ९ वैरियाविर्ता बस्ने ३५ बर्षीय महम्मद रिजवान आलम रहेका छन् ।

प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकलमा रहेका आलमलाई विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.२ श्रीराम सिनेमा हल पछाडि गोरेटो सडकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मोटरसाईकल रोकेर चेकजाँच गर्दा आलमले लगाएको जिन्सपाइन्टको खल्तीमा लुकाई छिपाई राखेको श्रोत नखुलेको नेपाली ७ लाख ५३ हजार तीनसय फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताउनुभयो ।

पक्राउ परेका आलमलाई मोटरसाईकल र बरामद गरेको रकम जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।