विवाहको १० वर्षपछि चौधरी दम्पतीलाई एकैपटक ३ सन्तान
वीरगन्ज, २६ भदौ । पर्सामा एक दम्पतीलाई विवाह गरेको १० बर्षपछि एकैपटक तीन सन्तान प्राप्त भएको छ । पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नं. ९ का वृज चौधरी थारु र ललिता देवि थरुनी दम्पतीले एकैपटक ३ वटा छोरा पाएका हुन् ।
प्रभु हस्पिटलमा उपचाररत प्रभु चौधरी दम्पतीले १० वर्षपछि एकैपटक ३ सन्तान प्राप्त गरेका छन् । १० वर्षदेखि बच्चा नभएर विभिन्न अस्पताल चहार्दा चहार्दै हैरान र निराश भएका उनीहरुले आईभिएफ प्रविधि अपनाएर गर्भधारण गराएको थियो ।
आर्थिक अवस्था कमजोर भएका थरुनीलाई प्रभु हस्प्टिलका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताको टिमले शल्यकृया गरेर तीनवटै बच्चा निकाल्न सफल भएको हो ।
निकै जोखिम मानिएको अप्रेसनमा प्रभु हस्पिटलका एनेथेसियाका डा. सन्देश यादव, शिशु तथा बाल रोग विशेषज्ञ डा. नविन झा, स्टाफनर्स रमिता गिरी, अनिल पटेल, मेनुका घिमिरे, पचिया खातुन, कृष्णा ठाकुर लगायतको सहयोगमा नवजात शिशु निकाल्न सफल भएको हस्पिटलका प्रशासकीय अधिकृत दीलिपराज कार्कीले जानकारी दिनुभयो ।
सुत्केरी व्यथा लागेपछि वीरगन्जका विभिन्न अस्पतालहरुमा घुमाउदा वीरगन्ज बाहिर लान सल्लाह दिएपनि प्रभु हस्पिटलले जोखिम मोलेर शल्यक्रिया गरेको अपरेशनमा संलग्न चिकित्क डा.थापाले बताउनुभयो । अहिले आमा तथा तीनवटै नवजात शिशुहरुको अवस्था र स्वास्थ्य सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।