१९ औँ एसियाली क्रिकेटमा नेपालको मंगोलियामाथि कर्तिमानी जित
वीरगन्ज, १० असोज । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङसँगै नेपालले १९ औँ एसियाली खेलकुद अन्तर्गत भएको क्रिकेटमा मंगोलियालाई २७३ रनले हराएको छ । नेपालले मंगोलियालाई फराकिलो रनले हराएको हो ।
चीनको हान्झाउमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा १ सय ३७ रनमा र दीपेन्द्रसिंह ऐरी १० बलमा ५२ रनमा अविजित रहे । यो टि–२० इतिहासकै उच्च योगफल हो ।
नेपालले दिएको ३ सय १५ रनको विश्व कीर्तिमानी लक्ष्य सहित ब्याटिङ गरेको मंगोलिया १३.१ ओभरमा ४१ रन बनाएर अलआउट भयो । यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रन बनाएका थिए ।
कुशलले ३४ बलमै शतक प्रहार गरेका थिए । योसँगै कुशल टि–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् ।