डाक्टर सन्दुक रुईतले पाउने पुरस्कार र धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय
वीरगन्ज, ६ असार । सरकारले डाक्टर सन्तदुक रुईत र धुर्मुस सुन्तली फाउण्डेशनलाई कर छुट दिने निर्णय गरेको छ । गृह मन्त्रालयले गत फागुन ११ मा रुइतले पाउने पुरस्कारमा कर छुट दिने निर्णय भएको जनाएको छ । कानुनअनुसार आकस्मिक लाभको भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्छ । आकस्मिक लाभको भुक्तानीमा २५ प्रतिशतका दरले अग्रिम करकट्टी गर्नु पर्दछ ।
तर यस्तो पुरस्कार रकममा सरकारले कर नलाग्ने गरी छुट दिन सक्नेछ । नेत्र चिकित्सक रुइतले गत फागुन प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका थिए । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ ।
बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा. रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो ।
त्यस्तै धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनाबस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय सरकारले गरेको हो।
मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले फाउण्डेसनको कर छुटसहित नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुमा रहेको सीमा चिन्ह स्तम्भ ९५३० १ लाई संयुक्त रुपमा पुनः स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय पनि गरेको सरकारी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।