फेरिएको मतदाताको मन, मत र चेत
बैशाख १० गते सम्पन्न चुनावमा तीन जिल्लाको तीन निर्वाचन क्षेत्रको अन्तिम नतिजा अइसकेको छ । बारा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनको अन्तिम मत परिणाम आउनु अघि नै तनहुँ–१ को निर्वाचनको मतपरिणामले नेपाली राजनीति तरंगित बनाएको थियो । यसले अब नेपालको मूलधारका ठूला राजनीतिक दलहरुले ‘सच्चिने की सक्किने ?’ भन्ने एकाथरीको टिकाटिप्पणीहरु आएका छन् । भने, शीर्ष दलका नेताहरुले भने सच्चिनुपर्ने त छदैछ ।
विचार र नीति विहन राजनीतिले व्यक्तिवादी हावी भएको तर्क गर्ने गरेका छन् । जे जस्तो तर्क गरेपनि नेपालको समकालिन राजनीतिमा नेपाली मतदाताको मन र मत परिवर्तन भएको छ । शीर्ष राजनीतिक दलहरुका नेतृत्वको कार्यशैली र अहिलेसम्म भएका आन्दोलन र परिवर्तनको उपलब्धिमा पनि भुईतहका जनताको जनजीविकामा भने खासै परिवर्तन आउन नसकेपछि मतदाता नयाँ विकल्पको खोजीमा थियो । नेपालका तीन तीन जना प्रधानमन्त्री भईसकेका व्यक्तिहरु एउटै मञ्चमा बसेर नागरिकहरुलाई मत आह्वान गरिरहँदा मतदाताहरुले भने उनीहरुले उम्मेदवार बनाएका व्यक्तिलाई जनमतबाट अस्वीकार गरेका छन् ।
उनीहरुले मञ्चबाट उम्मेदवारलाई जिताए मन्त्री बनाईदिन्छौं भनेर आश्वासन दिए । विपक्षी रास्वपाले ‘उनीहरु मन्त्री बनाउछन्, हामी देश बनाउछौं ।’ भन्ने अभियानमा भएको नागरिकलाई सम्झाउदै भोट मागे । त्यसलेपनि मतदातालाई मानेवैज्ञानिक प्रभाव पारेको छ । एमालेलाई जित्ने उम्मेदवार भन्दा पनि आफ्नो अस्तित्व बचाउनका लागि उम्मेदवार खडा गर्नु बाहेको विकल्प थिएन । किनभने, पाँचदलीय गठबन्धनले यसअघिको निर्वाचनमा नै एमालेलाई साईजमा ल्याईदिएको थियो । उसले आफ्नो गति र लयमा उम्मेदवार बनाएको थियो । तीनवटै क्षेत्रका उम्मेदवारले पाएको मतलाई हेर्दापनि एमालेले आफूलाई चुनावी मैदानमा दरिलो उपस्थिति जनाएको देखिदैन ।
मंसिर ४ को निर्वाचनमा चमत्कारी ढंगले चौथो शक्तिको रुपमा उदाएको रास्वपाको जनलहर बढ्दै गएको थियो । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल मंसिर ४ को निर्वाचनमा निर्वाचित भएका थिए । राष्ट्रपतिमा पौडेल निर्वाचित भएपछि कांग्रेसले उपनिर्वाचनमा गोविन्द भट्टराईलाई उम्मेदवार बनायो । सत्तागठबन्धन दलको साथ रहेको कांग्रेसले जित सहज हुन्छ भनेर भट्टराईलाई उम्मेदवार बनाएको थियो । उपनिर्वाचनमा उम्मेदवार बन्ने स्वर्णिम वाग्लेको पनि चाहाना थियो ।
वाग्लेको तनहुँमा भन्दा पनि चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने चर्चा र अडकलबाजी भईरहेको थियो । तर, कांग्रेसबाट तनहुँ–१ र चितवन–२ मा वाग्लेलाई टिकट पाउने छनक नदेखेपछि अन्ततःवाग्लेले कांग्रेस साभपति शेर बहादुर देउवा र उनकी श्रीमती आरजु राणा देउवालाई दोषारोपण गरेर स्वतन्त्र पार्टीमा गए । स्वतन्त्र पार्टीमा उपयुक्त पात्रको खोजी भईरहेको थियो । भर्खरै उदाएको पार्टीका सभापति नै नागरिकता विवादमा सांसद पद गुमाउनु परेको र अर्का सांसद डाक्टर ढाका कुमार श्रेष्ठको पनि व्यावसायी दुर्गा प्रसाँईसँग गरिको सम्वादको अडियो प्रकरणले सांसद पद खोसिएको थियो ।
रास्वपाले उपनिर्वाचनमा भाग लिदै गर्दा रबि आफै पुनःउम्मेदवारमा दोहोरिन त छदैँ थियो । तनहुँ र बारामा वेदाग अब्बल उम्मेदवारको खोजीमा थियो । जुन नेपाली कांग्रेसको सरकारमा शेर बहादुर देउवा र आरजु राणा देउवाकै आर्शिवादले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुने सुवर्ण अवसर पाएका वाग्ले रास्वपाका लागि उपयुक्त पात्र भेटियो । वाग्लेका लागि उम्मेदवार बन्ने सहज बाटो बन्यो । जसले तनहुँ–१ का मतदाताको वैकल्पिक उम्मेदवारको रुपमा देखिए ।
एमालेका सवेन्द्र खनाल तनहुँकै स्थानीय र प्रहरी संगठनका पूर्व प्रमुख भएपनि उनी मंसिर ४ को निर्वाचनमा जनमतबाट अस्वीकृत व्यक्ति थिए । कांग्रेसका गोविन्द भट्टराई तनहुँका जनताका लागि सरल र सहयोगी उम्मेदवार भएपनि उनको दल र दलभित्रका पात्रहरुकै कारणले उनलाई हार्नुपर्ने पस्थितिको सृजना ग¥यो । चितवन–२ मा रबिको दोश्रो उम्मेदवारीले उनले यसपटक जित्ला भन्ने कमजोर आंकलन र जितेपनि पहिलेको भन्दा मतान्तर कम हुन्छ भनेर विश्लेषणहरु पनि नभएका होईनन् ।
तर, त्यसको नतिजा आश्चार्यजनक नै आयो । पहिलेको भन्दा पाँच हजार भन्दा बढी मतले रबिको जित भयो । जितपछि रबिले सुशासनको एजेण्डामा टेकेर समृद्धिको बाटोमा लाग्ने चितवनका मतादासँग संकल्प पनि गरे । भीडबाट उदाएका रबिको संकल्प पूरा गर्न जनमतले समर्थन गरेको छ । तर, मंसिर ४ पछिको निर्वाचनमा उनले पाएको जनमत अवैधानिक भई जिम्मेवारीबाट मुक्तभएपछि देखाएको आशक्तिबाट जनतालाई शंका गर्ने ठाउँ दिएका छन् ।
गठबन्धनको प्रतिष्ठाको लडाई बनेको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उपेन्द्र यादव जितेर गठबन्धनको प्रतिष्ठा बचेको छ । मत परिणामलाई हेर्दा मतदाताको मन, मत र चेत फेरिएको भन्ने स्पष्ट छ । तथापी मधेस प्रदेशको बारा जिल्लाको क्षेत्र नम्बर २ को मतलाई हेर्दा मतदाताको मन, मत र चेत फेरिएको हो ? की होईन भन्ने प्रश्न पनि एकातर्फ छ । मुद्दा, विचार र राजनीतिक चेतको दृष्टिकोणबाट हेर्दा बारा क्षेत्र नम्बर २ को मत परिणाम स्थिर नै मान्नुपर्छ ।
यसले परिवर्तन चाहेको, तर तनहुँ र चितवनमा जुन खालको मत परिवर्तन देखिएको छ, त्यो रफ्तारमा मन, मत भन्दा पनि चेत भने फेरिएको हो । जुन मुद्दामा नेतृत्व उठेको हो त्यहि नेतृत्वलाई अझै स्थापित हुनुपर्छ भन्ने आवश्यकताको मतादेश हो भन्न सकिन्छ । हरेक १० बर्षमा परिवर्तन हुनुपर्छ भन्ने मान्यता विगतका आन्दोलन र परिवर्तनलाई पनि आधार मान्न सकिन्छ ।
तनहुँ र चितवन रास्वपाले गरेको मन र मत परिवर्तन आलोचनात्मक चेत भन्दापनि सामाजिक आक्रोशको लाभांश मात्रै हो । बारामा देखिएको मन, मत र चेत चाहिँ अझै परिवर्तनका लागि नेतृत्व स्थापित गर्नुपर्छ भन्ने स्पष्ट देखिन्छ । राजनीतिक परिदृश्यमा आन्तरिक दृष्टिकोणबाट तनहुँ, चितवन र बारा फरक भएपनि बाह्य दृष्टिकोणबाट रबि, स्वर्णिम र सिके एउटै पात्र हुन् ।