राउण्ड टेबल नेपालद्वारा देशभरका हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

राउण्ड टेबल नेपालद्वारा देशभरका हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

वीरगञ्ज, १४ बैशाख । राउण्ड टेबल नेपाल नामक संस्थाले देशभर एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाले चलाउँदै आएको ‘एजुकेट ए चाइल्ड’ अर्थात ‘एउटा बच्चालाई पढाऔं’ कार्यक्रममार्फत बुधबार देशभरका एक हजार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । संस्थाको वीरगञ्ज, विराटनगर, धनगढी, नारायाणघाट, भैरहवा र काठमाडौँलगायत देशभर रहेका शाखामार्फत बुधबार एकै पटक विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । 

‘एजुकेट ए चाइल्ड’ अन्तर्गत वीरगञ्जस्थित विश्व हिन्दू संस्कृत विद्यापीठ विद्यालयमा आयोजना गरिएको कार्यक्रममा वीरगञ्ज तिन सामूदायिक विद्यालयका ५२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । विश्व हिन्दू संस्कृति विद्यापीठ विद्यालयका २९, महानगरपालिका आधारभूत विद्यालयका १० र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका १३ जना गरी ५२ जना विद्यार्थीलाई २ लाख रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको संस्थाका एरिया ३ परियाजना संयोजक दिपल खन्नाले बताउनुभयो ।

राउण्ड टेबलको शाखा वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ र वीरगञ्ज राइजीङ राउण्ड टेबल २० ले संयुक्त रुपमा आफ्नो क्षेत्रमा पर्ने विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई ९६ हजार, श्री महानगरपालिका आधारभूत विद्यालयका १० जना विद्यार्थीलाई ४४ हजार र श्री नेपाल राष्ट्रिय आधारभूत विह्द्यलीका १३ जनालाई ६० हजार गरी कूल २ लाख रुपैयाँ रकम बराबरको चेक सम्बन्धित विद्यालयका प्रधानाध्यपक एवम् प्रतिनिधिहरुलाई प्रदान गरिएको छ । 

छात्रवृत्ति वितरणसँगै संस्थाले विश्व हिन्दू संस्कृति विद्यापिठ विद्यालयका २९ जना विद्यार्थीलाई पाठ्यपुस्तक र ब्याग ९झोला० पनि प्रदान गरेको छ । महालक्ष्मी विकास बैंकको सहयोगमा ब्याग प्रदान गरिएको खन्नाले बताए । त्यस्तै कार्यक्रममै क्लबका सदस्य गौरभ अग्रवालले व्यक्तिगत खर्चमा सोही विद्यालयलाई ६ थान पङ्खापनि दान गर्नुभयो ।

कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनल एएसपीए क्षेत्रका प्रमुख सदस्य सौरभ केडियाले दातृ संस्था र व्यक्तिहरुलाई छात्रवृत्तिबाट लाभावान्वित विद्यार्थीको प्रगति विवरणको बारेमा जानकारी गराउन आग्रह पनि गर्नुभयो । त्यस्तै विशिष्ट अतिथि एवम् राउण्ड टेबल नेपालका पूर्वसदस्य मनोज दासले आफ्नो विगतको अनुभवलाई साझा गर्दै ‘एजुकेट ए चाइल्ड’ जस्तो परोपकारी कामलाई निरन्तरता दिन सुझाव दिनुभयो । उहाँले आफू यस कार्यक्रमको सानो दाता भएको जानकारी गराउँदै आउने दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 
त्यस्तै विद्यार्थीहरुलाई ब्याग उपलध गराउने महालक्ष्मी विकास बैंकका मधेश प्रदेश प्रमुख सुदीप पोखरेलले हजारौँ विद्यार्थीलाई सहयोग गर्ने कामको भाग हुन पाउनु सौभाग्यको विषय भएको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको सुधारका सहयोग गर्न आफ्नो बैंक सधै तयार रहेको जानकारी गराउँदै आगामी दिनमा पनि यसलाई जारी राख्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा तिनवटै विद्यालयका प्रधानाध्यापकहरुले सामूदायिक विद्यालय सरकारको एकल लगानीबाट मात्र नचल्न सक्ने भएको हुँदा राउण्ड टेबल नेपाल जस्ता संघ संस्थाहरुको सहयोग अपरिहार्य भएको बताए । भविष्यमा पनि विद्यालयलाई हुँदै आएको सहयोगलाई निरन्तरता दिन उनीहरुको आग्रह थियो । 

कार्यक्रमलाई समापन गर्दै वीरगञ्ज फ्रेन्ड्स राउण्ड टेबल ८ का अध्यक्ष मनिष लाठले राउण्ड टेबल नेपालले अन्य सामाजिक काम गरेपनि शिक्षा पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो । लाठले देशको विकास र समृद्धिका लागि शिक्षित समाज अपरीहार्य भएको बताउँदै राउण्ड टेबलले यस्ता कामलाई अझै विस्तार गर्दै बढीभन्दा बढी विद्यालयसम्म पुग्ने लक्ष्य लिएको बताउनुभयो ।

कार्यक्रममा वीरगञ्ज राइजीङ राउण्ड टेबल २० का अध्यक्ष राहुल सौथालिया, महालक्ष्मी विकास बैंकका वीरगञ्ज शाखा प्रबन्धक पुरुषोत्तम अधिकारी,  राउण्ड टेबल नेपाल एरिया ३ का संयोजक आरोह मित्तल, लेडिज सर्कल नेपाल, विद्यालय र राउण्ड टेबल नेपालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।