पर्साका स्थानीय तहका बजेटको अवस्था : कसैले बजेट ल्याए, कसैले ल्याउन सकेनन्, कसैले प्रविष्ट गरेनन् 

पर्साका स्थानीय तहका बजेटको अवस्था : कसैले बजेट ल्याए, कसैले ल्याउन सकेनन्, कसैले प्रविष्ट गरेनन् 

वीरगन्ज, ३० असार । पर्साका केही स्थानीय तहहरु नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेका छैनन् । केहीले नीति तथा कार्यक्रम ल्याएपनि बजेट ल्याउन सकेका छैनन् भने केहीले ल्याएको बजेट मन्त्रालयको वेभपोर्टलमा प्रविष्ट गरेका छैनन् । पर्साको विन्दवासिनी, सखुवा प्रसौनी, कालिकामाई र धोविनी गाउँपालिकाले नीति तथा कार्यक्रम नै ल्याउन सकेका छैनन् ।

जीराभवानी गाउँपालिकाले बजेट ल्याएको छैन । भने पकाहमैनपुर, छिपहरमाई गाउँपालिका तथा पोखरिया नगरपालिका र पर्सागढी नगरपालिकाले अहिलेसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभ पोर्टलमा प्रविष्ट गर्नुपर्ने बजेटको विवरण प्रविष्ट गरेको छैन । पर्साका चारवटा पालिकाले मात्रै अहिलेसम्म मन्त्रालयको वेभपोर्टलमा बजेटको विवरण प्रविष्ट गरेका छन् ।

वीरगन्ज महानगरपालिका, बहुदरामाई नगरपालिका, जगरनाथपुर गाउँपालिका र पटेर्वा सुगौली गाउँपालिकाले मात्रै बजेट ल्याएर मन्त्रालयको वेभपोर्टलमा प्रविष्ट गरेको हो । नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका पालिकाहरु सखुवा प्रसौनी, विन्दवासिनी, धोविनी र कालिकामाई रहेका छन् ।

यी पालिकाहरुमा आपसी विवाद र प्रमुख प्रशासकीय अधिकृतको सरुवाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेका हुन् । यसैबीच ठोरी गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि ५८ करोड २१ लाख १२ हजारको कुल बजेट ल्याएको छ । हिजो गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँ सभामा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले प्रस्तुत गर्नु भएको बजेट गाउँसभामा सर्वसम्मतिले पारित गरेको हो ।

नवौं गाउँ सभाको नीति तथा कार्यक्रम असार ९ गते नै प्रस्तुत गरिएको थियो । ठोरी गाउँपालिकाले प्रस्तुत गरेको बजेट भने हिजो पारित भएको गाउँपालिकाका सूचना अधिकारी रमेशराज थिङले जानकारी दिनुभयो ।