नेपाल राष्ट्र बैंकद्वारा ६ महिनाको तथ्यांक सार्वजनिक, विदेशी विनिमय सञ्चिति घट्दो, शोधानान्तर घाटा चुलियो
वीरगन्ज, २६ माघ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८र७९ को ६ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६५ प्रतिशत छ ।
आयात ५१.१ प्रतिशतले र निर्यात ९५.५ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ५.५ प्रतिशत र अमेरिकी डलरमा ६.२ प्रतिशतले घटेको छ । शोधनान्तर स्थिति रु.२४१ अर्ब २३ करोडलेघाटामा छ । कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ८९ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.५०६ अर्ब ७० करोड र राजस्व परिचालन रु. ५४२ अर्ब ५ करोड छ ।
मुद्राप्रदाय २.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.३ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ३.८ प्रतिशतले बढेको छ र निजी क्षेत्रमाथिको दावी १२.० प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५.५ प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर २७.४ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको सञ्चिति असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा पुस मसान्तमा १५ दशमलव ९ प्रतिशतले कमी आइ नौ अर्ब ८९ करोड रुपैयाँमा झरेको छ । ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति सात महिनाको वस्तु आयात र ६ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
यस्तै चालु खाता तीन खर्ब ५४ अर्ब सात करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो ।
यस्तै शोधनान्तर स्थिति दुई खर्ब ४१ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको ६ महिनामा शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९२ करोड रुपैयाँले बचतमा रहेको थियो ।
यी सबैका बीच प्रत्यक्ष वैदेशिक लगानी भने बढेको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४८ दशमलव १ प्रतिशतले वृद्धि भइ ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको ६ महिनामा सात अर्ब ६६ करोड रुपैयाँ मात्रै प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।