ठोरीको पर्यटकीय क्षेत्रको विकासमा मधेस प्रदेश सरकारको प्राथामिकतामा छ : पर्यटन मन्त्री यादव 

ठोरीको पर्यटकीय क्षेत्रको विकासमा मधेस प्रदेश सरकारको प्राथामिकतामा छ : पर्यटन मन्त्री यादव 

ठोरी, २० चैत । मधेस प्रदेश सरकारको उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले अन्तराष्ट्रिय सामरिक महत्व बोकेको ठोरी लगायत मधेस प्रदेशको पर्यटन प्रवद्र्धन र विकासका लागि आवश्यक गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनु भएको छ । मन्त्री यादवले आफूले गर्न नसक्ने कामको घोषणामात्र नगर्ने उद्घोष गर्दै अबको सरकार र उद्योग तथा पर्यटन मन्त्रालयले ठोरीलाई विशेष प्राथमिकतामा राख्ने बताउनुभयो ।

आफू मन्त्री बनेको डेढ महिना मात्र भएको बताउदै मन्त्री यादवले मधेस प्रदेशमा पर्यटन क्षेत्रमा केही गरेर देखाउने इच्छा शक्ति भएकोले सरोकारवालाहरुसँगको छलफल, राय, सुझाव र विज्ञहरुको सहल्लाहमा विशेष योजनाहरु ल्याउने बताउनुभयो । उहाँले बजेट दिएर मात्रै विकास नहुने भन्दै त्यसको लागि गुरु योजनाहरु बनाएर दीर्घकालिन रुपमा पर्यटन विकास र सम्वद्र्धन हुने काम गर्नुपर्नेमा जोड दिनुभयो ।

ठोरीको बारेमा निकै चर्चा आफूले सुनेको र केही नमूना कार्यक्रमको आयोजना गर्ने योजना बन्दै गर्दा होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्जले ठोरीमा कार्यक्रमको आयोजना गरेर ठोरीको विषयमा जान्ने अवसर पाएको र आफूलाई सम्मान पनि गरेकोमा धन्यवाद दिनुभयो । पहिलेकै सरकारले ठोरी गाउँपालिकालाई १ करोड रुपैंया बजेट छुट्याएको र उक्त बजेटले के के कार्यक्रमहरु हुदैछ भन्ने बारेमा अहिले आफूले पनि मन्त्रालयमा जानकारी माग गरेको बताउदै उहाँले मधेस प्रदेशका पर्यटकीय क्षेत्रहरुको पहिचान गरेर मुख्यमुख्य क्षेत्रमा पर्यटकीय विकासका लागि काम गर्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री लगायत अतिथिहरुलाई स्वागत गर्दै ठोरी गाउँपालिकाका अध्यक्ष लाल बहादूर श्रेष्ठले ठोरी क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिहरु र प्रदेश सरकारबाट कुनै किसिमको सहयोग नपाएपछि ठोरीवासीको आशा मरिसकेको बताए । उनले २०७८ साल चैत ११ गते मधेस प्रदेश सरकारका तत्कालिन सरकारका मुख्यमन्त्री लालबाबु राउत गद्दीले ठोरी गाउँपालिकामै मन्त्री परिषदकोे बैठक बसेर ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्दै १० करोड दिने सार्वजिनक रुपमा बाचा गरेपनि उक्त रकम नदिएर ठोरीलाई धोका दिएको गुनासो गर्नुभयो ।

श्रेष्ठले स्वागत मन्तव्य राख्ने क्रममा यसअघिको मधेस प्रदेश सरकारले ठोरीलाई झुक्याएको भन्दै ठोरी क्षेत्रबाट प्रदेश र संघीय सांसदहरु जुनसुकै पार्टीबाट निर्वाचित भएर गएपनि ठोरीलाई बेवास्ता गर्दै ओझेलमा पारेको बताउदै अध्यक्ष श्रेष्ठले कार्यक्रमको प्रमुख अतिथि मन्त्री यादवसंग भने ठोरीको बिकासका लागि केही आशा र अपेक्षा राखेको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले पर्यटन क्षेत्रको विकासका लागि निजीक्षेत्र हातेमालो गर्न तयार रहेको बताउदै सीमाक्षेत्रको पर्यटन विकास भारतीय पर्यटकमा निर्भर रहेकोले भारतीय मुद्रा लिएर आउँदा सीमा क्षेत्रमा धरपकडले भारतीय पर्यटकहरु आउन नसकेको बताउनुभयो ।

कार्यक्रममा मन्त्री यादव सहित वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्य समितिका सदस्यहरुलाई सम्मान पनि गरिएको थियो । होटेल तथा पर्यटन ब्यवसायी संघ वीरगन्जका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री यादव सहित उद्योग वाणिज्य संघका पदाधिकारीहरुलाई सम्मान गरिएको हो ।

ठोरी गाउँपालिकाले पर्यटन मन्त्री यादव, बिरगंजका होटल ब्यवसायीहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई ठोरीका पर्यटकीय स्थलहरु समेटिएको ब्यानर चिनो स्वरुप प्रदान गर्दै आआफ्नो होटेल तथा संघसंस्थामा सो ब्यानर राखेर ठोरीको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न अनुरोध गरेको थियो । ठोरी गाउँपालिका र होटल तथा पर्यटन ब्यवसायी संघ बिरगंजको आयोजनामा ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरुको भूमिका तथा सम्मान’ कार्यक्रम ठोरी–२ को जंगल रिसोर्टमा सम्पन्न भएको हो ।