पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ 

पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ 

कोरोना महामारीको संक्रमण जोखिमले २०७६ चैत ११ गतेदेखि बन्द भएको नेपाल भारत सीमा नाका २०७८ असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको एक हप्तापछि वीरगन्ज रक्सोल नाका औपचारिक रुपमा खुलेको छ । मुलुककै प्रमुख नाका बीरगञ्ज–रक्सौलबाट सबै खाले भारतीय सवारी साधनले नेपाल प्रवेश पाएसँगै वीरगन्ज लगायत नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पर्नेमा व्यावसायीहरु आशावादी छन् । यद्यपि विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको लागि यात्रा व्यावस्थापन सम्बन्धमा नेपाल सरकार गृहमन्त्रालयले जारी गरेको आदेशमा तोकिएको स्वास्थ्य मापदण्डको पालनाको झण्झटिलो प्रकृयाले सीमामा हुने व्यावस्थापन चुनौतीपूर्ण छ । भन्सार कार्यालयले भारतीय यात्रुका सवारी साधनलाई उपलब्ध गराउने अस्थायी प्रवेश पासका लागि पीसीआर रिपोर्ट, खोप लगाएको १४ दिन पूरा भएको हुनुपर्ने तथा तेश्रो मुलुकबाट आएकाहरुको लागि नेपालमा बस्ने होटलको समेत अनलाईन बुकिङ भएको हुनुपर्ने छ । यसले नाका खुलेपनि सहज छैन भन्ने सन्देश प्रवाह भयो भने पर्यटन क्षेत्रमा अपेक्षाकृत सुधार हुन नसक्ला कि ! भन्ने शंका पैदा गरेको छ । भन्सार कार्यालयलाई स्वास्थ्य मापदण्ड अनुसारको प्रकृया पु¥याउनुपर्ने कानूनी जटिलता र स्थानीयताको आधारमा व्यवहारिक हुनुपर्ने परिस्थितिले केही चुनौतीहरु भन्सार नाकामा देखिएको छ । सीमा नाका खुला भएपछि नेपालको पर्यटन क्षेत्रमा पर्न प्रभाव र यसको फाईदाको विषयमा व्यावसायी तथा संविधानसभा सदस्य अनिल रुंगटासँग गरेको कुराकानीको सार :

अनिल रुंगटा 
संचालक (होटल दियालो लर्ड्स) 

     सीमा नाका सूचारु भयो । स्वभाविक रुपमा पर्यटकहरु आउने क्रम शुरु भएको छ । यसले प्रत्यक्ष रुपमा सकारात्मक प्रभावहरु देखिने छन् । नेपाल भारतको सीमा क्षेत्रमा रोटीबेटीको पनि सम्बन्ध छ । यसले अनेक किसिमले सहज आवत जावत भईरहेको अवस्थामा साढे एकबर्ष सीमा नाका बन्द हुँदा असहज बनेको थियो ।

सीमा नाकामा सवारी आवतजावतमा पनि रोक लगाईएको अवस्थामा सीमाक्षेत्रका नेपाल भारत दुवैतर्फका नागरिकलाई समस्या थियो । धेरै कठिनाई थियो । सीमा नाकामा पैदल यात्रुहरुलाई खुला गरिएको भएपनि सवारी साधनको अनुमति पाएको थिएन । त्यसले व्यवासायिक कामका लागि आउनेहरुलाई पनि समस्या थियो । पर्यटकहरु त झन् आउने अवस्था नै थिएन । अब सीमा नाकामा भारतीय निजी सवारी आवागमन सहज भएपछि नेपाल आउने र नेपालबाट जाने क्रम पनि बढ्दो हुन्छ ।

पहिले आवागमन पातलो थियो । सीमा नाका खुला भएपछि भारतीय पर्यटकहरु मात्रै होईन अन्य विभिन्न कामको सिलसिलामा आउने जाने क्रम बढ्दै जान्छ । यसले नेपालको पर्यटन क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्नसक्छ । त्यसकारण सीमा नाकामा सवारी आगावमन सहज हुनु भनेको स्वागतयोग्य छ । अर्को भारतमापनि कोभिड–१९ संक्रमण कम हुदै गएको छ । खोपको पूर्ण मात्रा पूरा हुदै गएर विस्तारै सबैक्षेत्रहरु सामान्य बन्दै गएको छ ।

नेपालमा पनि पछिल्लो अवस्थामा खोपको राम्रो व्यावस्थापन गरेको हुँदा वीरगन्ज लगायत मुख्य सहरहरुमा पनि कोरोनाको प्रभाव घट्दो क्रममा छ । कोभिड नियन्त्रणका लागि पनि सरकारको चुस्त व्यावस्थापन भएको छ । यसकारणले गर्दा कोभिडको जुन जोखिम थियो । त्यो कम भएको छ । यसकारणले अब विवाह, ब्रतवन्ध, उत्सव महोत्सवहरुको पनि समय शुरु हुन्छ । यसमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले अपनाएको स्वास्थ्य मापदण्डको चाहिँ सबैले पालना गर्नुपर्छ ।

धेरै भारतीय नागरिकहरु डेस्टिनेशन म्यारिजका लागि पनि नेपालालाई रोज्ने गरेका छन् । व्यावसायिक क्षेत्रबाट आउने, रोजगारीको क्षेत्रका, स्वास्थ्य उपचारका लागि आउने तथा पर्यटकहरुको पनि नेपालमा आवत जावत बढ्दै जान्छ । सीमा नाका बन्द हुँदा नेपालमा आउनेहरुको संख्या एकदमै न्यून थियो । अब सीमा खुला भयो यसको व्यापक प्रचार प्रसार पनि भएको छ । यसले नेपाल अब पर्यटनको गन्तव्य बनेको छ ।

त्यसैले नेपालमा व्यावसायिक कामले आउनेहरु, रोजगारीका लागि आउनेहरु मात्रै होईन नेपालमा स्वास्थ्य उपचारका लागि पनि आउने गरेका छन् । उनीहरुलाई पनि नाका खुला भएपछि सहज भएको छ । यसले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्छ । पर्यटन क्षेत्रलेपनि विस्तारै गति लिँदै जान्छ । त्यसैले पर्यटनक्षेत्रमा अब केही साकारात्मक सुधारहरु आउन सक्ने सम्भावनाहरु छन् । त्यसको परिणाम पनि चाँडैनै देखिन थाल्ने छ । यसले सीमाक्षेत्रका दुवै देशका नागरिक खुशी पनि भएका छन् । खासगरी मधेसका जनता सीमा खुलाले निकै खुशी छन् । पर्यटन व्यावसायीहरु पनि उत्साहित छन् ।