वीरगन्जदेखि दिल्लीसम्म पैदल यात्रा गरेका शेख मुन्नालाई वाईसियलको सम्मान
वीरगन्ज, १५ असोज । नेकपा (माओवादी केन्द्र) पार्टी निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल) पर्साले वीरगन्जदेखि दिल्लीसम्म पैदल यात्रा हिडेका युवकलाई सम्मान गरेको छ ।
वीरगन्जदेखि भारतको दिल्लीसम्म १०६० किलोमिटरको दूरी २२ दिनमा पूरा गरेका वीरगन्ज १ छप्कैयाका शेख मुन्नालाई शनिबार एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो । वाईसियल नेपाल पर्साका संयोजक दिपेन्द्र सिंह पटेलको अध्यक्षतामा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि वाईसियल नेपालका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज गौरव संतोष पटेलले पैदल यात्री शेख मुन्नालाई प्रशंसा पत्र सहित सम्मान गर्नुभएको हो ।
उहाँले वीरगन्जका युवा शेख मुन्नाले देखाउनुभएको अदम्य साहसको प्रशंसा गर्दै केही गरौं भन्ने सोचका युवाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो । विगतमा युवाहरुलाई राजनीतिक दलहरुले प्रयोग मात्रै गरेको बताउदै उहाँले पछिल्लो समयमा खासगरी माओवादी आन्दोलन पश्चात युवाहरुपनि राजनीतिमा सक्रियता पूर्वक सहभागिता जनाएकोले युवाको महत्व यूवाहरुले नै बुझ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा रामबाबु मण्डल, महेश पटेल, रामाधार पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ को प्रदेशसभा ख का संयोजक सुनिल कुमार रौनियारले गर्नुभएको थियो ।