चुरियामा तीर्थयात्रु चढेको वस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ जना घाईते
वीरगन्ज, ७ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस गएराति करिब १ बजेको समयमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी क्षेत्रीले जानकारी दिनुभयो ।
दुर्घटना पछि बसका चालक फरार छन् । प्रहरी नायव उपरीक्षक क्षेत्रीका अनुसार दुर्घटनामा घाईतेहरु दुईजना हेटौंडाको चुरेहिल अस्पतालमा र चितवन मेडिकल कलेजमा दुईजनालाई रिफर गरिएको छ । हेटौंडा अस्पतालमा चिकित्सकहरुको निगरानीमा उपचार चलिरहेको र घाईतेहरुको अवस्था हेरेर आवश्यकता अनुसार रिफर भईरहेको प्रहरी नायव उपरीक्षक क्षेत्रीले बताउनुभयो ।