बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन शुरु
वीरगन्ज, २० भदौ । बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गरिएको छ । नेपाल औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडको टोलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गरेको हो ।
नेपाल सरकारको उद्योग मन्त्रालयले औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यावस्थापन लिमिटेडका सहायक निर्देशक इञ्जिनियर सुशील तिमिल्सिना र जयकृष्ण दूलाल नेतृत्वको टोली बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ४, १५ र १६ मा पर्ने जग्गाको स्थलगत अध्ययन शुरु गरेको छ ।
प्रारम्भिक अध्ययनका क्रममा सिमरामा विशेष आर्थिक क्षेत्रका लागि निर्माण गरिएको ब्लक ‘इ’ र ब्लक ‘डी’ औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त देखिएको अध्ययन टोलीका सदस्य इञ्जिनियर सुशील तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले सिमरा स्थित विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको क्षेत्रमै ४०० विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु गरिएको बताउनुभयो ।
यसअघि पर्सा जिल्लाकै पर्सागढी नगरपालिका स्थित गुठी संस्थानको ६०० विगाह क्षेत्रफलको जग्गामा अध्ययन गरिएपनि त्यहाँ गुठी संस्थानको ६०० विगाह जग्गा फेला नपरेको र एकमुष्ट जग्गा २०० विगाह मात्रै भेटिएको थियो । त्यसमा पनि अनाधिकृत वस्तीका कारणले औद्योगिक क्षेत्र स्थापनाका लागि चुनौती देखिएको बताउनुभयो । उहाँका अनुसार देशभरका अधिकांश नयाँ औद्योगिक क्षेत्र स्थापना गर्ने ठाउँमा अनाधिकृत वस्तीको समस्या रहेको छ ।
वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यावसायीहरुले गरेको पटक पटकको आग्रहपछि यसपटक उद्योग मन्त्री रमेश रिजालकै विशेष निर्देशन र वीरगन्ज उद्योग वाणिज्य संघको सक्रियताले सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन शुरु भएको वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताउनुभयो । प्रारम्भिक अध्ययनपछि अध्ययन टोलीले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल पनि गरेको छ । छलफलका क्रममा अध्ययन टोलीका इञ्जिनियर तिमिल्सिनाले ब्लक ‘डी’ मा केही अनाधिकृत वस्ती पनि रहेको र केही खेतहरु पनि परेकोले केही समस्या हुने देखिएपनि ब्लक ‘इ’ मा भने कुनै समस्या नदेखिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ब्लक ‘डी’ केही वस्तीहरु पनि रहेछ । खेतहरु पनि परेका रहेछन् । खेतीबाली लगाउन नपाउँदा बार्षिक ५ करोड किसानलाई नोक्सानी हुने गरेको गुनासो पनि स्थानीय गरेका छन् । ब्लक ‘इ’ मा भने कुनै समस्या देखिएन । पाईलट प्रोजेक्टको रुपमा अगाडि बढाउन सकिएमा विशेष आर्थिक क्षेत्र भन्दा औद्योगिक क्षेत्रको नै बढी सम्भावना देखिएको छ ।’
औद्योगिक क्षेत्र स्थापनका लागि जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख पनि सकारात्मक रहेकोले स्थानीय तहको समन्वयमा औद्योगिक क्षेत्र बनाउन सकिने अध्ययन टोलीको निष्कर्ष छ । वीरगन्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा नै सक्रियता देखाएकोले र उद्योग मन्त्री रमेश रिजालको पनि चासो रहेकोले औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन टोलीको प्राथामिकतामा राखेर प्रतिवेदन बुझाउने टोलीका अर्का सदस्य जयकृष्ण दूलालले बताउनुभयो ।
मधेस प्रदेशमा अहिलेसम्म औद्योगिक क्षेत्रको विकासको गति अगाडि बढ्न नसकेकोले औद्योगिक क्षेत्र व्यावस्थापन लिमिटेडेको उद्देश्य नै उद्योगलाई सेवा र टेवा दिने भएकोले त्यसको लागि सकारात्मक रहेको दुलालले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्र स्थापना हुने ठाउँबाट द्रूतमार्ग पनि नजिकै रहेको साथै अहिले रेलमार्गको अध्ययनका क्रममा पनि स्टेशनहरु सोही अनुसार निर्धारण गरिएकोले त्यसको आधारमा औद्योगिक क्षेत्र स्थापनको उपयुक्त स्थान हुनपर्नेमा जोड दिनुभयो ।
उहाँले औद्योगिक क्षेत्र स्थापना भए त्यसको आसपासमा नै अर्को आईसीडी (इनल्याण्ड कण्टेनर डिपो) सुक्खा बन्दरगाह र ट्रान्सपोर्ट नगरको पनि व्यवस्था गर्नुपर्ने बताउनुभयो । छलफल कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमज्यू, उपाध्यक्ष द्वय माधव राजपाल मनोजकुमार दास, कोषाध्यक्ष शिवजी प्रसाद साह,, सह–सचिव निरज अग्रवालको साथै सङ्घका कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो ।