फुटबल खेलाडी ‘पेले’ को स्वास्थ्य अवस्था गम्भीर
वीरगन्ज, १८ मंसिर । आन्द्राको क्यान्सरबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको शरीरमा किमोथेरापीले काम गर्न छाडेपछि स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । ब्राजिली सन्चारमाध्यमले जनाए अनुसार ८२ वर्षीय पेले गत साता अस्पताल भर्ना भएका थिए ।
तीनपल्ट फिफा विश्वकपको उपाधि जितेका ब्राजिली महान फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई अस्पतालको ‘एन्ड अफ लाईफ पेल्लियाटिभ केयर वार्ड’मा राखिएको छ । यो भनेको जीवनको अन्तिम अवस्थामा रहेकाहरुलाई गरिने हेरचाह हो ।
शरीर सुन्निने र मुटुले काम गर्न छाडेपछि पेलेलाई गत मंगलबार साओ पाउलोस्थित अल्वर्ट आइन्स्टाइन अस्पताल भर्ना गरिएको थियो । शताब्दीकै महान खेलाडीको स्वास्थ्य अवस्था ‘स्थिर’ रहेको बताए पनि उनकी छोरी केलीले चिन्ता मान्नुपर्ने आवश्यकता नभएको दावी गरेकी थिइन् ।
विश्वभरका समर्थकलगायत पूर्व क्लब सान्तोष, ब्राजिलका पूर्व स्ट्राइकर रिभाल्डो र फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पेले पेलेको स्वास्थ्यलाभको कामना गर्दै ट्वीट गरेका छन् ।