ओली सरकारको ऐतिहासिक काम, एकहप्तामा दुईपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि
वीरगन्ज, १८ फागुन । केपी शर्मा ओली नेतृत्वको सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । गत फागुन ४ गते पनि एक हप्ता नबित्दै मूल्य बढाइएको थियो ।
डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटरमा ५ रुपैयाँले मूल्य बढाईको निगमद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै हवाई इन्धन बाहृयतर्फको मूल्य पनि एक किलोलिटरमा २५ अमेरिकी डलरले वृद्धि गरिएको निगमले जनाएको छ ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल र हवाई इन्धनको मूल्य बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । नयाँ मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मटितेलको भाउ ९९ रुपैयाँ कायम भएको छ ।
यस्तै हवाई इन्धन आन्तरिकतर्फको प्रतिलिटर मूल्य ७२ रुपैयाँ भएको छ । खाना पकाउने ग्यासको मूल्य भने अहिले बढाएको छैन । अन्तर्राष्ट्रिय बजार कच्चा तेलको मूल्यमा भएको बृद्धिका कारण भारतीय आयल कर्पाेरेसनबाट बढेर मूल्य प्राप्त भएको निगमले जनाएको छ ।
मूल्य समायोजन पछि निगमलाई पेट्रोलमा प्रतिलिटर ८.४२ पैसा, डिजेलमा प्रतिलिटर ६.५६ तथा एलपी ग्याँसमा प्रति सिलिन्डर ३९२.८२ पैसा घाटा रहेको निगमले बताएको छ । अहिले पनि अर्धमासिक रूपमा करिब एक अर्ब ३२ करोड घाटा नै रहने निगमले जनाएको छ । हालको मूल्य समायोजन पछि पनि भारतीय सीमा रक्सौलमा भन्दा वीरगञ्ज क्षेत्रमा पेट्रोल ३५. ९३ पैसा र डिजेल प्रतिलिटर ४२.०७ पैसा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।