औषधि व्यवासायी संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुदै, उपकोषाध्यक्ष सहित ७ जना निर्विरोध निर्वाचित
वीरगन्ज, २३ भदौ । नेपाल औषधी व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागी आज निर्वाचन हुँदैछ । आज दिउँसो साढे एक बजेबाट निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत राजु खड्काले जानकारी दिनुभयो ।
मतदानका लागि उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गरिसकेको छ । संघको विधान अनुसार अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, आयात, थोक र खुद्रा विक्रेता तर्फबाट एक/एक जना उपाध्यक्ष गरी तीनजना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सचिव र उपकोषाध्यक्ष लगायत पदाधिकारी सहित २१ सदस्यीय नयाँ कार्य समितिका लागि निर्वाचन हुने छ । अहिलेसम्म नेतृत्वमा दुईजना अध्यक्षका उम्मेदवार रहेका छन् ।
वीरगन्जबाट यसअघिको कार्यसमितिमा रहनुभएका बरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवाल र बुटवलका लोकहरी श्रेष्ठ अध्यक्षका उम्मेदवार रहेका छन् । त्यस्तै बरिष्ठ उपाध्यक्ष पदमा रामप्रसाद खरेल र निरञ्जन प्रसाद रिजाल, आयातकर्तातर्फको केन्द्रीय उपाध्यक्षमा शेखर श्रेष्ठ र रामचन्द्र शर्मा, थोकतर्फको उपाध्यक्षमा टंक प्रसाद अधिकारी र प्रकाश कुमार श्रेष्ठ त्यस्तै खुद्रातर्फको उपाध्यक्ष्मा यामनाथ पौडेल र हरि विडारीको उम्मेदवारी परेको छ ।
त्यस्तै महासचिवमा प्रशान्त मानन्धर, श्रीधर खनाल, कोषाध्यक्षमा राजेश कुमार प्रधान र सम्राट जोशी, सचिवमा कृष्ण बहादुर रोकाया र श्रृजन कुमार भट्टराईको उम्मेदवारी परेको छ । उपकोषाध्यक्ष सहित ६ जना केन्द्रीय सदस्यहरु भने निर्विरोध निर्वाचित भएको छ ।
उपकोषाध्यक्षमा आवश्यक पद संख्यामा एक र केन्द्रीय सदस्यहरुको आवश्यक पदसंख्यामा पनि एकजनाको मात्रै उम्मेदवारी परेको हुँदा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो । उपकोषाध्यक्षमा कविराज कडेंल निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै केन्द्रीय सदस्यहरुमा सुनिल लखोटिया (आयात), गौतम गुप्ता र गया प्रसाद कुश्मी (थोक), प्रदीप कुमार दास र पृथ्वी बहादुर बम (खुद्रा) तथा कपिला जोशी महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ । पाँचजना खुलातर्फको केन्द्रीय सदस्यका लागि ७ जनाको उम्मेदवारी परेको छ ।