न्यून पूँजी भएका लगानीकर्ताको लागि म्युचुअल फण्ड उपयुक्त
काठमाडौं । सामुहिक लगानीकोष योजना (म्युचुअल फण्डमा) न्यून पूँजी भएकाहरुका लागि लगानी उपयुक्त हुने विज्ञहरुले बताएका छन् । मर्चेण्ट बैंकर एशोसिएसन अफ नेपालको सहयोग र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको म्युचुअल फण्डको बारेमा प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।
म्युचुअल फण्डको बारेमा “बुझौ र बुझाऔं” विषयक भर्चुअल कार्यक्रममा कम पूँजी भएका , बजारमा लगानी गर्ने सम्बन्धमा ज्ञान नभएका र जोखिम लिन नचाहने लगानीकर्ताहरुका लागि म्युचुअल फण्डको लगानी सुरक्षित हुने बताएका थिए । धितोपत्र दोस्रो बजारको लगानी पैसा तिरेर जोखिम किनेको सहर भएकाले बुझेर मात्र यो व्यापारमा लाग्नेले नाफा कमाउन सकिने बताए ।
दोस्रो बजारको जोखिम न्यूनिकरणका लागि एउटै क्षेत्रमा नभएर बिभिन्न क्षेत्रमा लगानी गर्न समेत विज्ञहरुको सुझाब छ । योजना व्यवस्थापकले नै लगानीकर्ताहरुको सम्पत्तिको जिम्मा लिएर त्यसको प्रभावकारी व्यवस्थापन गर्ने हुनाले यसमा जोखिम पनि कम हुने बताएका छन् ।
हाल नियामक निकायबाट १७ ओटा योजना व्यवस्थापकहरुलाई म्युचुअल फण्ड सञ्चालनका लागि अनुमति दिएको बताउँदै उनले दोस्रो बजारमा २५ ओटा बन्दमुखी योजनाहरुको २९ अर्ब बराबरको पूँजी परिचालन रहेको छ । यी बाहेक चार ओटा खुलामुखी योजनाहरु सञ्चालनमा रहेका छन् ।