एनआरएनएको निर्वाचन सरगर्मी बढ्यो, बेल्जियममा धमलाको सम्भावना बढी
वीरगन्ज, १९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जुलाइभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकाएर नयाँ नेतृत्व चयन गर्नुपर्ने निर्देशन दिइसकेको छ। त्यहि निर्देशन बमोजिम राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरूमा यतिवेला चुनावको सरगर्मी बढेको छ। युरोपेली मुलुक एनसीसी बेल्जियमको निर्वाचन १६ जुलाइमा निर्वाचन हुँदैछ। बेल्जियम पनि यतिबेला चुनावी माहोलले तातेको छ।
निर्वाचन समितिका अनुसार बेल्जियममा अध्यक्षबाहेक अन्य सबै पद सहमतिमा टुंगाइएको छ। अध्यक्ष पदमा पनि सहमति जुटाउन निर्वाचन समितिले प्रयास गरेपनि अझै सफलता पाउन सकेको छैन । तिर्थराज धमला, सीता सापकोटा, अनुजा प्रधान र नारायण सिलवाल ४ जनाले अध्यक्ष पदमा दावी गरेपनि सिलवाल भने अन्तिममा धमलालाई समर्थन गर्दै चुनावी मैदानबाट पछि हटेका छन्।
अब तीन जनाबीचमा चुनाव हुने देखिन्छ। तीनमध्ये धमला र सापकोटा बलिया प्रतिस्पर्धी मानिन्छन्। धमला वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन्। यसअघिको कार्यकालमा महासचिव भएर काम गरेको अनुभव पनि उनीसँग छ। धमला अध्यक्षमा आफ्नो उम्मेदवारी स्वभाविक भएको बताउँछन्। ‘उपाध्यक्षपछि स्वतः जाने अध्यक्षमा नै भएको धमला बताउछन् ।
अहिलेसम्म संस्थामा पाएको जिम्मेवारी इमान्दारी पूर्वक निभाएकोले अध्यक्ष बन्ने आधार नै आफ्नो योगदान र इमान्दारिता भएकोले अध्यक्षमा आफ्नो दावी रहेको धमलाको भनाइ छ। एनआरएनए बेल्जियमलाई थप गतिशील बनाउन प्रभावकारी कार्य दक्षता देखाउन सक्ने अनुभवी नेतृत्व चाहिएको बताउँदै त्यसका लागि आफू परिपक्क भइसकेको धमलाको दावी छ। उनले भने, ‘लामो समय संस्थामा काम गरेको छु। सामाजिक कार्यमा मैले पुर्याएको योगदानको मूल्यांकन अवश्य हुनेछ ।’