बिन्दवासिनीमा निःशुल्क आँखा शिविर सम्पन्न 

बिन्दवासिनीमा निःशुल्क आँखा शिविर सम्पन्न 

वीरगन्ज, २९ असार । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीमा आज निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । समुदाय प्रहरी साझेदारी अन्तर्गत वीरगन्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग तथा रुंगटा वेलफेयर सोसाईटीको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा २०९ जनाको आँखा परीक्षण गरिएको थियो ।

आँखा परीक्षण गरिएका मध्य ३४ जनामा मोतियाबिन्दुको समस्या देखा परेको वीरगन्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामीले जानकारी दिनुभयो । मोतियाबिन्दुको समस्या भएकाहरुको वीरगन्ज सामुदायिक आँखा अस्पतालमा शल्यक्रिया गरिने पनि उहाँले बताउनुभयो । आँखा शिविरमा नैन यादव नेतृत्वको दृष्टिविज्ञहरुको टोलीले आँखा परीक्षण गरेका थिए ।

कार्यक्रममा महानगरको वडा नम्बर १९ का वडा अध्यक्ष मूकेश चौरसिया, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मणिराम थापा, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन केसी लगायतको उपस्थिति रहेको थियो ।