कोरोना संक्रमणका कारण पर्सामा थप एकजनाको मृत्यु 

कोरोना संक्रमणका कारण पर्सामा थप एकजनाको मृत्यु 

ट्रिब्यून न्युज
वीरगन्ज, ३१ चैत । पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ८ बजे बीरगन्ज वडा नम्बर–३ का ६२ वर्षीय बृद्धको नारायणी अस्पतालमा मृत्यु भएको छ । यो सँगै २४ घण्टामा पर्सा र बाराका गरी ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नारायणी अस्पतालमा २९ गते भर्ना भएका ६२ बर्षीय पुरुषको मंगलबार बिहान ८ : २० मा मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो । पर्साका कोरोना संक्रमित मध्य एकजनाको हिजो भरतपुरमा मृत्यु भएको थियो । पर्साको कालिकामाई गाउँपालिका २ का ५५ बर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

यसैबीच वीरगन्जको नारायणी अस्पतालमा उपचाररत रहेका  बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का ३७ बर्षीय युवकको कोरोनाका कारण मृत्यु भएको छ । उनी होलीभन्दा दुईदिन अघि मात्रै भारतको हैदरावादबाट घर आएको बुझिएको छ । उनीमा अस्ती संक्रमण पुष्टी भएको र चारदिन एडभान्समा उपचारपछि नारायणी अस्पतालमा उपचारका लागि आएका थिए । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालका कोभिड कोअर्डिनटेर डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।