जङ्गली जनावरको संख्या वृद्धिले वन अतिक्रमण रोकियो
कृष्णमोहन साह
वीरगन्ज, २७ मंसिर । पर्सा राष्ट्रिय निकुञ्ज तथा डिभिजन वन कार्यालय अन्तर्गत पर्ने जङ्गलमा जङ्गली जनावरको सङ्ख्यामा वृद्धि भएपछि वन अतिक्रमण रोकिएको छ ।
डिभिजन वन कार्यालय, पर्साका सहायक वन अधिकृत फरमान मियाँले जङ्गलमा जनावरको सङ्ख्या वृद्धि भएपछि जनावरको बासस्थानका लागि विगत तीन वर्षमा २५० हेक्टर जमीनमा वृक्षारोपण गरी पुनः जङ्गल निर्माण गरिएको बताउनुभयो ।
जङ्गलभित्र फँडानी भई नाङ्गो गौचरणको रूपमा प्रयोग भएको खाली जमीनमा वृक्षारोपण गरी जङ्गल निर्माण गरिएको र सोही ठाउँलाई जनावरहरूले बासस्थानको रूपमा प्रयोग गरिरहेको उहाँले बताउनुभयो । वन्यजन्तुको लागि वासस्थान भएपछि जंगली जनावरको संख्या पनि वृद्धि भएको छ ।
जङ्गली जनावरको संख्या वृद्धिले वन विनाशको गतिविधिमा कमी आएको छ । गाई, भैंसी, बाख्रा चराउन जङ्गलमा लैजाँदा बाघले एक सातामा चारवटा भैंसीमाथि आक्रमण गरी घाइते बनाएपछि जङ्गलमा गोठालो जान बन्द भएको छ ।
जिराभवानी गाउँपालिका अन्तर्गत शान्तिनगर, काठमाडौंटोल, वसन्तपुर, हरैया सखुवनिया, शङ्करसरैया लगायत गाउँबाट चरिचरणका लागि वस्तुभाउ जङ्गलमा लग्ने कार्य पूर्णरूपमा बन्द भएको छ । जसका कारण ससाना बोटबिरुवा तथा लाथ्राहरू मासिनबाट जोगिएका छन् ।
जङ्गलमा बोटबिरुवा तथा झ्याङ वृद्धि भएको छ भने जङ्गली जनावरको त्रासका कारण स्याउला काट्ने, दाउरा ल्याउने कार्यसमेत बन्द भएकाले जङ्गल फँडानी रोकिएको छ । राति हरियो रूख काट्ने र तस्करी हुने कार्य पनि बन्द भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा अशोक रामका अनुसार निकुञ्जमा जनावरको सङ्ख्या वृद्धि भएको छ ।
निकुञ्जमा बाघ ४१, हात्ती ६५, गैंडा ५, नीलगाईको सङ्ख्या १०५ पुगेको अधिकृत रामले जानकारी दिनुभयो । त्यस्तै चित्तल, हरिण, बँदेललगायत जङ्गली जनावरको सङ्ख्यामा पनि वृद्धि भएको अधिकृत रामको भनाई छ ।