भोलीदेखि अमलेखगञ्ज डीपोबाट पेट्रोलियम लोडिङ नगर्ने
वीरगन्ज, २८ भदौ । सरकारसँग भएको सहमति अनुसार वैज्ञानिक भाडादर कार्यान्वयनमा नल्याएको भन्दै आन्दोलनरत पेट्रोलियम ढुवानी व्यावसायीहरुले बिहीबारदेखि आन्तरिक ढुवानी पनि रोक्ने भएको छ ।
आन्दोलनरत पेट्रोलियम ढुवानी व्यावसायी महासंघले भदौ २४ गतेदेखि आन्दोलन जारी राखेका छन् । भदौ २२ गते बसेको महासंघको बैठकले भदौ २४ गतेदेखि भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने पेट्रोलियम डेलिभरी अर्डर (पीडीओ) नलिने निर्णय गर्दै आन्दोलन शुरु गरेका थिए ।
आफूहरुले राखेको माग सम्बोधन नगरिएको भन्दै आन्दोलनका कार्यक्रमहरु थप गरेका छन् । थप कार्यक्रम अनुसार उनीहरुले बिहीबारदेखि अमलेखगञ्ज डीपोबाट समेत आन्तरिक लोडिङ्ग बन्द गर्ने भएका छन् । माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने ट्याङकर ढुवानी व्यावसायी महासंघका बरिष्ठ उपाध्यक्ष मनोज दासले बताउनुभयो ।
सरकारले अहिले बरौनीबाट ढुवानी गरिएको पनि भाडा भुक्तान गर्न बाँकी रहेको दासले बताउनुभयो । भुक्तानी बक्यौता चाडै गर्न र आन्दोलनरत व्यावसायीहरुको माग सम्बोधन गर्न उहाँले माग गर्नुभयो । माग सम्बोधन नभए असोज १ गतेदेखि देशभरका डीपोबाट लोड अनलोड ठप्प पार्ने पेट्रोलियम ढुवानी व्यवसायी महासंघले चेतावनी दिएको छ ।
विज्ञप्ति