भारतीय निजी कम्पनीको रेल कार्गो लिएर पहिलो पटक ड्राईपोर्टमा आईपुग्यो

वीरगन्ज, ३० भदौ । भारतीय कम्पनीको निजी रेल पहिलोपटक कार्गो लिएर वीरगन्जमा आईपुगेको छ । भारतको हल्दिया बन्दरगाहबाट हिन्द टर्मिनल प्रालिको खाद्यान्न बोकेको रेल ९० ओटा कन्टेनर लिएर वीरगञ्ज स्थितसुक्खा बन्दरगाहकामा बुधबार आईपुगेको हो । भदौ २८ गते सोमवार हल्दिया बन्दरगाहबाट हिँडेको रेल बुधबार नेपालको सिर्सिया स्थित सुक्खा बन्दरगाहमा आईपुगेको हो ।
कार्गो लिएर सिर्सिया सुक्खा बन्दरगाहमा प्रवेश गरेको हिन्द टर्मिनलको रेललाई सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल, निर्देशक हेमेन्द्र शाही, हिन्द टर्मिनलका महाप्रवन्धक अभिनव गुप्ता, अपरेशन महाप्रवन्धक ऋषि सिंह, सुक्खा बन्दरगा भन्सार कार्यालयका प्रवत्ता भन्सार अधिकृत चुडामणी शर्मा कट्टेल लगायतले नेपालको झण्डा र हरियो झण्डा देखाएर स्वागत गरेका थिए ।
नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले पहिलो पटक भारतीय निजी कम्पनीको रेल कम्पनीले नेपालमा गरेको सेवा प्रवेशले कार्गो ढुवानी सेवा प्रतिस्पर्धी हुने, नेपाली पारवहन लागत र समय घट्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय निजी कम्पनीको रेलसेवा शुरु भएपछि कार्गो ढुवानीमा पनि वृद्धि हुने भएपछि सुक्खा बन्दरगाहमा स्थान अभाव हुनसक्ने भएकोले विश्व बैंकको ऋण सहयोगमा सुक्खा बन्दरगाह भित्रै ४० करोडको लागतमा कण्टेनर यार्ड निर्माण भईरहेको बताउनुभयो । एकीकृत भन्सार जाँचचौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) बीचको ६२ विगाह जग्गा अधिग्रहणको प्रकृयालाई छिटो टुंग्याउनुपर्ने बताउनुभयो ।
भारतीय कण्टेनर निगम कोन्करको एकाधिकारले नेपाली आयातकर्ताहरुलाई कार्गो ढुवानी महंगो भएको भन्दै यसको संसोधनको माग गर्दै आएका थिए । तीन महिनाअघि मात्रै नेपाल र भारतबीच रेल सेवा सम्झौता संशोधन गरेर भारतका निजी रेल सेवाप्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्ने व्यवस्था गरेपछि भारतीय निजी रेल कम्पनी प्रवेश गरेको हो ।
हिन्द टर्मिनल्सको नेपालमा कार्गो सेवाको प्रवेशले ढुवानी सेवा प्रतिस्पर्धी हुने बाटो खुलेको छ । प्रतिस्पर्धी बजारमा आयातकर्ताहरुले सस्तोमा कार्गो ढुवानी गर्न पाउने, पारवहन सेवामा लाग्ने समयको बचत र निर्यातमा पनि सहजता हुने उनको दावी छ ।
हिन्द टर्मिनल प्रालिले भारतमा २६ वटा रेलमार्फत सेवा दिईरहेको र नेपालमा पनि हप्तामा दुईपटक सेवा दिने योजना रहेको बताउनुभयो । हिन्द टर्मिनल्स र कोन्कर बाहेक रेल कम्पनीले पनि नेपालतर्फको ढुवानीमा रुची देखाएको गुप्ताले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश २ अध्यक्ष गणेश लाठले कार्गो ढुवानीमा निजी कम्पनीको भारतीय रेलवे सेवा शुरु हुँदा प्रतिस्पर्धा हुने र एकाधिकार मात्रै तोडिएको बताए । उनले भने, “अहिले नै फाईदा बेफाईदाको कुरा गर्नुभन्दा रेलवे कम्पनीले दिने सेवा र ढुवानी भाडाको दर हेरेर मात्रै भन्न नेपाली आयातकर्ताहरुलाई हुने फाईदाको बारेमा भन्न सकिन्छ ।”
नेपालको कार्गो ढुवानीमा भारतको निजी रेल कम्पनीले सेवा दिन थालेपछि रेलसेवा कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्ने र यसले नेपालको पारवहन सेवामा सहज हुने वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताउनुभयो । नेपाली आयाकर्ताहरुको कार्गो ढुवानीका लागि महत्वपूर्ण र ऐतिहासिक शुरुवात भएकोले यसलाई स्थायित्व दिनेतर्फ पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले कार्गो ढुवानीमा भारतीय निजी कम्पनीले सेवा दिन थालेपछि अब स्थलमार्गबाट हुने कार्गो ढुवानीपनि रेलमार्फत नै आयाकर्ताहरुले गर्ने बताउनुभयो ।