आवश्यकता छैन भन्दै दुईबर्षसम्म अवरोध, पानी अभाव हुन थालेपछि बल्ल टंकी निर्माण शुरु
वीरगञ्ज, २७ जेठ । वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा डिप बोरिङ्ग तथा पानी ट्यकी निर्माणको शिलान्यास भएको छ । नेपाल खानेपानी संस्थानले नगवामा निर्माण गर्न लागेको डिप बोरिङ्ग तथा पानी ट्यंकीको शिलान्यास संघीय सांसद प्रदिप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।
५३ करोड ३२ लाख २४ हजार २२० रुपैयाको लागतमा दुई वर्षमै काम सम्पन्न हुने गरी सो ट्यकीं निर्माण हुन लागेको खानेपानी संस्थान वीरगंजका प्रमुख निरन महर्जनले बताउनुभयो । ४ लाख ५० हजार लिटर क्षमताको ट्यांकी निर्माण हुन लागेको खानेपानी टंकीबाट ४५ हजार घरधुरीले सरकारी धाराको लाभ लिन सकिने उहाँले बताउनुभयो ।
दुईवर्षदेखि सो ठाउँमा ट्यांकी निर्माण गर्न पहल भईरहँदा आवश्यकता नभएको भन्दै स्थानीयले ट्यांकी निर्माणमा अवरोध गरेका थिए । तर अहिले अत्याधिक गर्मी बढेर चापाकलको पानी समेत सुकेर पानीको अभाव हुँदा आवश्यकताको महशुस भएर स्थानियले ट्यंकी निमार्णमा सहमति जनाएका छन् ।
स्थानीयकै अवरोध कारण २ वर्ष देखि अलपत्रमा परेको ट्यंकी निमार्ण अबको दुई वर्ष भित्रमा सम्पन्न हुने संस्थानका प्रमुख महर्जनले बताउनुभयो । सङ्घ सरकारको बजेटबाट नेपाल खाने पानी संस्थानले निर्माण गर्न लागेको वीरगञ्ज जलापूर्ति परियोजनाको कूल लागत ५३ करोड ३२ लाख २४ हजार २२० रुपैयाँ ५८ पैसा रहेको छ । परियोजना दुई वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।