आदिवासी जनजाति समुदाय एक हुनुपर्नेमा वक्ताहरुको जोड 

आदिवासी जनजाति समुदाय एक हुनुपर्नेमा वक्ताहरुको जोड 

वीरगन्ज, २६ कार्तिक । नेपाल आदिवासी जनजाति महासंघ वीरगन्ज महानगर कमिटिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । होटल मकालुमा आयोजना गरेको कार्यक्रमको प्रमुख अतिथि मधेस विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दिपक शाक्यले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उपकुलपति डाक्टर शाक्यले आदिवासी जनजाति समुदायको भाषा, धर्म, संस्कृति संरक्षणमा एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले कुनैपनि समुदायको पहिचान समाप्त पार्न ती समुदायको भाषा र संरकृतिमा प्रहार गर्ने गरेको भन्दै त्यसको रक्षाका लागि सबै आदिवासी एक हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डाक्टर कृपासिन्धु चौधरीले आदिवासी जनजाति समुदाय एकजुट हुन नसक्दा राजनीतिक नेतृत्वमा पनि अगाडि बढ्न नसकेको बताउनुभयो । उहाँले राज्यको नेतृत्व तहमा पुग्ने आदिवासी जनजातिले राष्ट्र र जनताको लागि काम गरेर देखाएको उदाहरणहरू धेरै रहेकोले अब राज्य सञ्चालनको नेतृत्व गर्न आदिवासी जनजाति अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघका वीरगन्ज महानगर समिति अध्यक्ष रोशनी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ मधेस प्रदेश बरिष्ठ उपाध्यक्ष कमल बहादुर पिठाकोटे, सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साका सशत्र प्रहरी नायव उपरीक्षक संगम श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज नीरज पिठकोटे मगर, नेवा दय देबुः का अध्यक्ष सुनिल श्रेष्ठ, सत्यम खड्गी, नेवा पुचः का हरि बहादुर वैद्य, नेपाल मगर संघका रमेश थापा मगर, धानुक समाजका अध्यक्ष रामाशिष महतो धानुक, थारु कल्याणकारी सभाका पर्साका अध्यक्ष रामेश्वर महतो थारु लगायत विभिन्नमहानगरका बरिष्ठ उपाध्यक्ष पुरन गुरूङले स्वागत गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी मुस्कान श्रेष्ठले गर्नुभएको थियो ।