जसपा नेपाल पर्साको जगरनाथपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
वीरगन्ज, २७ कार्तिक । जनता समाजवादी पार्टी नेपाल जगरनाथपुर गाउँपालिका एकाइ समिति वडा न ५ मसिहानीद्वारा शुभदिपावली र छठ पर्बको शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणि समिति सदस्य एवम् मधेस प्रदेश सरकारका पूर्व मुख्यमन्त्री लालबाबु राउतले मधेसीको आन्दोलनले गर्दा नै आज मधेसी, आदिवासी जनजाति, मुस्लिमहरु र अन्य शोषण उत्पीडनमा परेकाहरु देशको मुलधारमा प्रवेश गरेको बताउनुभयो ।
समय बदलिदो क्रममा रहेकाले अबको युग दलित, आदिवासी जनजाति मुस्लिमको नै हुनेमा आफू विश्वस्त रहेको उहाँको भनाइ छ । पूर्व मुख्यमन्त्री राउतले आफ्नो कार्यकालमा सो क्षेत्रमा ३ वटा पुल निर्माणको लागी योजना ल्याएको र अहिले सम्पन्न भएपछि त्यस क्षेत्रका जनतालाई आवतजावतमा सहज भएको बताउनुभयो ।
उहाँका अनुसार अहिले देशको एजेन्डा नै जनता समाजवादी पार्टीले अघि सारेको एजेन्डा छ । त्यस्तै कार्यक्रममा मधेश प्रदेशका उर्जा सिचाँई तथा खानेपानी मन्त्री सिंहासन सा कलवारले आफ्नो मन्त्रालयले गर्ने सम्पुर्ण सहयोग त्यस क्षेत्रका जनताको लागि उपलब्ध गराउने आश्वासन दिनुभयो ।
कार्यक्रममा जसपा जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव, जिल्ला सचिव तबरेज अहमद नेता पाठा मियाँ लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा युवा नेता फिरोज गद्दी, रामपुजन पटेल, भोला ठाकुर लोहार, रामबडाइ पटेल, रामदयाल मुखिया बिन लगायत सयौंको संख्यामा स्थानीय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो कार्यक्रम उपेन्द्र मुखिया बिनको अध्यक्षतामा सम्पन्न भएको हो ।