वीरगञ्ज रक्सौल सिमानाका खुला, भारतीय पर्यटक भन्छन् ‘नयाँ घरमा प्रवेश गरेजस्तै लाग्यो’
वीरगन्ज, १५ असोज । कोरोना महामारीमा बन्द गरिएको वीरगञ्ज रक्सौल सिमानाकाबाट भारतीय यात्रुवाहक सवारी साधनको आवागमन शुक्रबार (आज) देखि खुला भएको छ । नेपाल सरकारको मन्त्री परिषदको असोज ५ गतेको निर्णय अनुसार औपचारिक रुपमा वीरगञ्जको मुख्य प्रवेशद्वार शंकराचार्य गेटबाट यात्रुवाहक भारतीय सवारी साधनहरुको आवागमन शुरु भएको हो ।
भारतबाट आउने सवारी साधन सहितको यात्रुहरुलाई ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट, खोप लगाएको १४ दिन पुगेको प्रमाण, भारतबाट नेपाल प्रवेश गर्ने पहिलो सवारीका चालकसहित सवारीमा सवार भएकाहरुलाई होटल तथा पर्यटन व्यवसायी संघवीरगन्जले फूलमाला लगाएर स्वागत गरेको थियो ।
भारतीय पर्यटकलाई स्वागत गर्नका लागि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी पनि पुग्नु भएको थियो । उहाँले यसअघि पैदल यात्रुहरुको आवागमन जारी रहेकोमा भारतीय निजी सवारीको पनि आवागमन शुरु भएपछि दुई देशबीचको सम्बन्धमा आत्मियता बढ्नुको साथै पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने बताउनुभयो ।
लामो समयसम्म सिमानाका बन्द हुँदा वीरगञ्ज र रक्सौलसहितका बासिन्दालाई आवतजावतमा असहजता भइरहेको अवस्थामा पहिले नै सरकारले स्वास्थ्य मापदण्ड तोकेर खुला गर्नुपर्नेमा ढिलो भएपनि सीमा खोल्नु स्वागतयोग्य रहेको बताउनुभयो ।
मित्र राष्ट्र भारत र नेपालबिचको रोटी बेटीको सम्बन्धका कारण पनि निजी सवारीको आवागमन सुचारु हुनुपर्ने माग आज पूरा भएको सरावगीको भनाई छ । सीमा नाका खोल्न होटल तथा पर्यटन व्यवसायी संघ पर्साले गरेको पहलको पनि मेयर सरावगीले सह्राना गर्नुभयो । कार्यक्रममा होटल व्यवसायीहरु, वीरगञ्जका सञ्चारकर्मीहरु, रक्सौलका सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
भन्सार नाकामा आवश्यक कागजपत्र अनलाईन मार्फत भर्नका लागि तलको लिंक हेर्नुहोला
https://ccmc.gov.np/atms/