औद्योगिक करिडोरको दुःख ६ लेनको व्यापारिक मार्ग
ट्रिव्यून न्युज
वीरगन्ज, २९ फागुन । वीरगन्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) देखि अमलेखगन्जसम्मको ६ लेनको व्यापारिक मार्ग वीरगन्ज पथलैया औद्योगिक करिडोरका लागि भने दुःख बनेको छ । वीरगन्जका उद्योगीहरुलाई निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानीको निकासमा रोक लगाएपछि करिडोरमा रहेका अर्बौको उद्योगहरुलाई समस्या उत्पन्न भएको छ ।
व्यापारिक सडक मार्ग निर्माण आयोजनाले निर्माण गरिरहेको ६ लेनको सडकको दुवैतर्फ बनाएको नालामा उद्योगबाट हुने पानीको निकासमा रोक लगाएपछि करिडोरको अर्बौको औद्योगिक लगानी जोखिममा परेको छ । शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधरणसभाको उद्घाटन सत्रमा बोल्ने क्रममा यहाका उद्योगीहरुले वीरगन्ज पथलैया औद्योगिक कोरीडोरमा निर्माणाधीन व्यपारिक मार्गको नालामा सडक विभागले उद्योगबाट निस्कने पानीको निकासमा रोक लगाएको बताए ।
सडक निर्माण हुनुभन्दा पहिलेदेखि करिडोरका उद्योगहरुको पानी निकासमा समस्या नभएपनि निर्माणाधीन ६ लेनको व्यापरिक मार्ग निर्माणसँगै सडकको नालामा उद्योगको पानीको निकास गर्न नदिने भएपछि औद्योगिक कोरिडरमा रहेका उद्योग कलकारखाना सन्चलनमा चुनौती थपिएको भन्दै उद्योगी व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । उद्योगी व्यवसायीहरुले वीरगन्ज पथलैया औद्योगिक करिडोर नेपालकै सबैभन्दा धेरै उद्योगहरु रहेको क्षेत्र भएपनि अहिलेसम्म औद्योगिक करिडोर घोषणा नगरेर राज्यले विभेद गरेको बताएका छन् ।
वस्तीको विकास हुनुभन्दा पहिले उद्योगहरुको स्थापना भएकोले उद्योग स्थापना गरिएको स्थानमा वस्ती विकास गर्न दिएर राज्यले उद्योगहरुलाई जोखिममा पारेको आरोप लगाए । व्यापारिक मार्ग निर्माणले उद्योगहरुलाई ढुवानीमा सहज हुने अपेक्षा गरिएपनि झन पीडा थपिएको गुनासो गरे । व्यापारिक मार्ग निर्माणले उद्योगबाट निस्किने पानीको निकास मात्रै रोकेको छैन, उद्योगहरु बर्षातमा डुबानमा परेर थप जोखिम मात्रै बढाएको उनीहरुको भनाई छ । उद्योग स्थापना भएको स्थानमा मानव वस्ती बस्न दिने राज्यको द्वैध चरित्र नेपाली अर्थतन्त्रको मेरुदण्ड औद्योगिक क्षेत्रलाई चुनौती बनेको छ ।