राष्ट्रिय धान दिवस :कृषिको निकाय धेरै उपलब्धि थोरै 

राष्ट्रिय धान दिवस :कृषिको निकाय धेरै उपलब्धि थोरै 

वीरगन्ज, १५ असार । असार १५ छुपछुपे हिलोमा धान रोपेर मनाईने दिन हो । तर, प्राकृतिक नियम प्रतिकुल हुँदा यसपटक किसानले समयमा धान रोप्न पाएका छैनन् । देशभर राष्ट्रिय धान दिवस मनाएपनि पर्सा जिल्लामा आज धान दिवस खल्लो भएको छ । विगतमा मल खादको अभावले धानबालीमा समस्या झेल्दै आएको किसानले यसपटक भने समयमा पानी नपर्दा खडेरीको समाना गर्नु परेको छ ।

किसानलाई यस्तै संकटको बेलामा हो राज्यले हेर्ने । तर, राज्यका निकायहरु मौन छन् । यसमा मुख्य भूमिका खेल्नुपर्ने स्थानीय तहहरुले पनि कृषिलाई प्राथामिकता नदिएर कंक्रिट र ढलानको विकासलाई प्राथामिकता दिने गर्दा बर्सेनि किसानहरुले समस्यै समस्यामा झेल्नु परेको छ । कृषिसँग सम्बन्धित निकायहरु धेरै छन् ।

तर, ती निकायहरुको संख्याको अनुपातमा उपलब्धि भने देख्न सकिएको छैन । यसबर्ष लामो समयसम्म पानी नपर्दा किसानले खेतमा धानको ब्याड राख्न नपाउँदा रोपाँई गर्न पाएका छैनन् । धानको बिऊ व्याड राखेपनि पानी नपरेपछि ब्याडमै बिऊ सुक्ने र मर्ने गरेको किसानहरुले बताएका छन् । बिऊ ब्याडमै सुकेको र सिँचाईको लागि नहरमा पनि पानी पर्याप्त नहुँदा धान रोपाँई गर्न समस्या भएपछि किसानहरु चिन्तित भएका छन् ।

पर्साको ठोरी क्षेत्रमा डिप बोरिङ्ग सुविधा भएको ठाउँमा रोपाई गरिएको छ भने आकाशे पानीको भरमा गरिने रोपाई हुन सकेको छैन । स्यालो ट्युबवेलको प्रयोग गरेर सिँचाई गर्नका लागि पनि पानीको सतह कम हुँदा जमिन सुकेर पानीको अभावले धान रोपाई प्रभावित एको छ । पर्साको पटेर्वा सुगौली, सखुवा प्रसौनी, जीराभवानी, जगरनाथपुर, छिपहरमाई, पकाहामैनपुर विन्दवासिनी, पोखरिया, बहुदरमाई नगरपालिका लगायतका नहरको दक्षिणभागमा पर्ने स्थानीय तहमा पानी नहुँदा रोपाई हुन सकेको छैन ।

बर्षाको मध्य समय अर्थात असार १५ मा धान रोपाई गरिसक्नुपर्ने भएपनि अहिले छिटफुट उत्तरी भेगमा रोपाई भएको बाहेक अन्य क्षेत्रमा धान रोपाई हुन नसकेको कृषिज्ञान केन्द्र पर्साका बालि विकास अधिकृत सुरेश प्रसाद चौरसियाले बताउनुभयो । उहाँका अनुसार अहिले रोपी सक्नुपर्ने धानको भर्खर किसानहरुले बिऊ ब्याड मात्रै राखेका छन् ।

पर्सा जिल्लामा ४६ हजार ७१० हेक्टर क्षेत्रफल धानखेती हुने गरेको छ । तर, यसपटक पानी नपर्दा धान रोपाईपनि ढिलो हुने भएपछि उत्पादनमा कमी आउने सम्भावना रहेको छ । पानीको अभाव भईरहँदा पनि स्थानीय तहहरुले सिँचाईको व्यावस्था गर्न नसक्दा किसानले धान रोप्न पाएका छैनन् । पानीको कारण देखाउदै स्थानीय तहहरु राष्ट्रिय धान दिवसको दिन पनि मौन बसेका छन् ।

प्रधानमन्त्री कृषि अधुनिकीकरण परियोजनाले भने पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ बुद्धनगरमा धान दिवस मनाएको छ । परियोजनाले आयोजना गरेको धान दिवस कार्यक्रममै जिल्लाको कृषि ज्ञान केन्द्र, भेटनरी तथा पशुविज्ञ अस्पताल लगायतका कृषिसँग सम्बन्धित कार्यालयका प्रमुखहरु सहभागी भएका छन् ।

पर्सा जिल्लाको ठोरी, जीराभवानी, पटेर्वासुगौली, सखुवा प्रसौनी गाउँपालिका र पर्सागढी नगरपालिका गरी पाँचवटा पालिकाको १७ वटा वडामा पकेट क्षेत्र घोषणा गरेर धानखेती लगाईएको छ । परियोजनाका कृषि अधिकृत पुरुषोत्तम रौनियारका अनुसार परियोजनाको पकेट क्षेत्रमा सोना मन्सुली, स्वर्ण सब–१, बहुगुणी–२ गरी तीन जातका धान ११ हजार ५०० हेक्टरमा लगाईने गरिएको छ ।