भारतले धान र चामल निर्यातमा लगाएको कर हटाउन वीरगन्ज उद्योग वाणिज्य संघको माग
दशैंको संघारमा नेपालमा खाद्यान्नको मूल्यवृद्धि हुने
वीरगन्ज, २४ भदौ । नेपालमा चाडवाड नजिकिदै छ । दशैं संघारमा नै आएको छ । यहिबेला भारतले धान र चामल निर्यातमा २० प्रतिशत कर लगाएको छ । भारतीय खाद्य मन्त्रालयको सिफारिसपछि वित्तीय मन्त्रालयअन्तर्गत राजश्व विभागले बासमती र उसिना बाहेक निर्यात हुने अन्य चामलमा २० प्रतिशत कर लगाएको हो । शुक्रबारदेखि नै बढेको कर लागू भएको छ ।
पश्चिम बंगाल, उत्तर प्रदेशसहित केही राज्यमा वर्षाको कमीका कारण धानको उत्पादनमा समेत कमी आएको भन्दै भारतको प्रधानमन्त्री गरिब कल्याण योजनाका लागि पर्याप्त स्टक रहनुपर्ने भएकोले खाद्य मन्त्रालयले निर्यात कम गर्ने लक्ष्यस्वरुप २० प्रतिशत कर लगाएको भारतको राजस्व विभागले मातहतका निकायलाई गरेको परिपत्रमा उल्लेख गरिएको छ ।
भारतले चामल निर्यातमा कर लगाएसँगै नेपालमा पनि चामलको भाउ बढ्ने भएको छ । नेपालमा वार्षिक साढे ५ लाख टन धान र चामल आयात हुने गरेको छ । कुल आयात हुने वस्तुमा धान र चामलको हिस्सा २.५ प्रतिशत छ । यसैबीच भारतले धान र चामलमा लगाएको करले नेपालमा खाद्यान्नको मूल्य बढ्ने मात्रै नभई नेपाली खाद्य उद्योगहरु पनि थप संकटमा पर्ने भन्दै खाद्यान्न उद्योगीहरुले चिन्ता व्यक्त गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघले भारतले नेपाल, बंगलादेश, भुटान लगायतका मुलुकहरुमा धान चामल निर्यातमा २० प्रतिशत कर बढाएपछि नेपालमा त्यसको नकारात्मक प्रभाव पर्ने भएको छ । भारतले धान र चामलमा लगाएको करले नेपाली खाद्य उद्योगहरुलाई पनि समस्या पारेको भन्दै यसलाई नेपाल सरकारले कुटनीतिक पहलबाट नेपालमा आयात हुने कर छुट गराउन पहल गर्नुपर्ने वीरगन्ज उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गरेर भारत र नेपालको रोटीबेटीको सम्बन्धलाई समेत प्रभावित पार्ने गरी भारतले धान चामलमा कर बढाएको बताएको छ । संघका अध्यक्ष सुवोध कुमार गुप्ताले नेपालमा आयात हुने धान चामलको भन्सार शुल्कको एक तह फरक हुनुपर्ने माग गर्दा सरकारले विश्व व्यापार संगठनको सदस्यताका कारण तह फरक गरेर भन्सार शुल्क लिन नमिल्ने बताएपनि भारतले भने कर लिने निर्णय गरेकोले यसलाई रोक्न पहल गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।
उहाँले भारत, नेपालमा धान र चामल आयात गर्ने निर्विकल्प मुलुक भएको र रोटीबेटीको पनि सम्बन्ध भएकोले चामल आयातमा कर लिएपनि धान आयातको कर भने हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । गुप्ताको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष हरि गौतम, सचिव आशिष लाठ, अरविन्द अमात्य लगायत पदाधिकारी र कार्यसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।