नेपाल राष्ट्र बैंक वीरगञ्जको वित्तीय चेतना अभिवृद्धि कार्यक्रम
ट्रिव्यून न्युज
वीरगन्ज, १ चैत्र । नेपाल राष्ट्र बैंंक वीरगञ्ज कार्यालयले वित्तीय साक्षरताका लागि चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । २०७७ फागुन २८ गते बारा जिल्लाको बारागढी गाउँपालिका वडा –६ गडहलस्थीत श्री गम्भीरा ब्रजकिशोर माध्यमिक विद्यालयमा वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा राष्ट्र बैंकको गभर्नरको कार्यालयका उप-निर्देशक डा. भागवत आचार्यले बैंकिङ तथा वित्तीय प्रणाली, बैंकिङ वानीको विकास तथा विस्तार, वित्तीय चेतना, वित्तीय सुरक्षा, वित्तीय समावेशीकरण एवं वित्तीय सशक्तीकरण वारे जानकारी गराउनु भएको थियो । बैंक तथा वित्तीय संस्थाको काम, कर्तव्य, अधिकार एवं बैंकिङ सेवाको सदुपयोग तथा दुरुपयोग गर्दा हुने परिणामवारे पनि सामान्य जानकारीहरुको प्रस्तुतीकरण गर्दै वित्तीय साक्षरताका विभिन्न आयामहरुबारे प्रस्तुत गर्नुभएको थियो ।
उहाँले बचत गर्ने बानीको विकास र उपायहरु, बैकिङ्क सेवा, सफा नोट सम्बन्धि बानीको विकास, आधुनिक बैकिङ्क सेवाहरु लगायत विषयमा समेत सरल भाषामा विद्यार्थीहरुलाई बुझाउनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंंक, वीरगञ्ज कार्यालयका सहायक निर्देशक अमिष शर्माले सक्कली र नक्कली नोट छुट्याउने सामान्य विधिहरु बारे प्रयोगात्मक गर्दै सिकाउनु भएको थियो ।
त्यस्तै का.मु. सहायक निर्देशक दिनेश प्रसाद साहले वित्तीय साक्षरताबारे छलफल चलाउनुभएको थियो । बारागढी गाउँपालिकाका अध्यक्ष देवदत बछार थारुले उक्त कार्यक्रमले आफुले पनि धेरै कुरा जान्ने मौका पाएको भन्दै विद्यार्थीहरुले यी कुराहरु सिकेर आफ्नो घरगाउँ, टोलछिमेकमा पनि सिकाउन सुझाव दिनुभयो । राष्ट्र बैंक वीरगन्ज कार्यालयका का.मु. निर्देशक दण्ड प्रसाद खरेलले बचत गर्ने बानीले अर्थतन्त्रमा ठूलो भूमिका निभाउने बताउदै विद्यार्थी, शिक्षक, सहभागि लगायत सबैलाई सहभागीताका लागी धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा उप¬–निर्देशक डा. भागवत आचार्यले विद्यालयको पुस्तकालयका लागी वित्तीय साक्षरताका केही पुस्तकहरु सो विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष कामोद प्रसाद सहनी तथा सह–प्रधानाध्यापक भूमी चौधरीलाई हस्तान्तरण समेत गर्नुभएको थियो ।