पटक पटक सहरलाई झस्काउने सूचना कार्यान्वयन कहिले ?
वीरगन्ज, १३ असार । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्ज भन्सारको मितेरी पुलदेखि हेटौंडा, दामन, टिष्टुङ, पालुङ र दामेचौर हुदै धादिङको नौविसेसम्मको सडक हो त्रिभुवन राजपथ । वि.सं. २०१३ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको राजपथ सडकखण्डको विस्तारको विषयले ती क्षेत्रमा पर्ने सहरहरुलाई बेला बेलामा झस्काउने गरेको छ । सडक विस्तारको नाममा सडक विभागले जति पटक सार्वजनिक सूचना प्रकाशित गर्छ त्यति नै सहरलाई झस्काई रहेको छ ।
पटक पटक विस्तारको प्रयास पनि भएको छ । तर, त्यसको पूर्ण कार्यान्वयन भने हुन सकेको छैन । हेटौंडादेखि नौविसेसम्मको सडक क्षेत्रमा घर वस्ती नभएको तर, भौगोलिक बनोटका कारणले विस्तारमा समस्या छ । हेटौंडादेखि वीरगन्जसम्मको सडकक्षेत्रमा घर टहराको संरचना र वस्तीका कारणले विस्तारमा विलम्व हुदै आएको छ ।
एकदुई चरणमा विस्तारको काम भएपनि अदालतमा मुद्दा पर्ने र रोकिने गरेको छ । पछिल्लो पटकको अदालतको आदेशले पनि पुनः सडक विस्तार गर्न बाटो खुलेको छ । सडक एउटै भएपनि खण्ड खण्डमा यसको विस्तार हुने र रोकिने क्रम अझै जारी छ ।
हेटौंडा सडकखण्डको एकदुई चरणको विस्तार शुरु भएको थियो । पुनः अदालतको आदेशले रोकिएको छ । अहिले भने अदालतको फैसलाले सडक विस्तारको लागि बाटो खुलेकोले सडक डिभिजन कार्यालय हेटौंडाले पुनः सार्वजनिक सूचना प्रकाशित गरेको छ । पथलैया, जीतपुर, परवानीपुर सडक खण्डमा पनि सडक छेउमा निर्माण गरिएका संरचना र अदालतमा परेको मुद्दाले विस्तारको काम रोकिएको थियो ।
अन्त्यमा अदालतबाट समेत मुद्दा किनारा लागेपछि अहिले गण्डकसम्मको सडक विस्तार भईसकेको छ । गण्डकदेखि मितेरीपुलसम्मको सडकखण्डको विस्तार भने अहिले अन्योल नै छ । यस सडकखण्डमा झण्डै आधादर्जन मुद्दा सवोच्चमा रहेको छ । यो सडक खण्डको विस्तार सम्बन्धि मुद्दा सर्वोच्च अदालतमा १८ औं पटकसम्मको पेशीमा पनि हेर्न नभ्याईनेमा परेको छ ।
अब असार २४ गतेको लागि पेशी तोकिएको छ । सर्वोच्च अदालतको अहिलेको नीति अनुसार पेशी चढेको मुद्दालाई प्राथामिकतामा राखेर किनारा लगाउने र आन्तरिम आदेश दिएको मुद्दालाई १५ दिनभन्दा धेरै समय नराख्ने छ । तर, १८ औं पटक पेशी चढेको वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी मुद्दा हेर्न नभ्याईनेमा पर्ने गरेको छ । पटक पटक पेशी सर्दा वीरगन्जको मुख्य सडक विस्तारमा अझै ढिलाई भएको छ ।
अदालतले समयमा मुद्दा किनारा नलगाईदिँदा विकासमा नै अवरोध भएको वीरगन्ज महानगरपालिकाले पनि पटक पटक भनिरहेको छ । एउटै समस्याले पटक पटक वीरगन्ज सहरलाई झस्काई रहेको छ । जब पेशी सर्छ अनि फेरी रकमको चलखेल भयो भन्ने वीरगन्जवासीको बुझाई रहेको छ । त्यसैले पटक पटक झस्किनुपर्ने र रकमको चलखेल भयो भन्ने बुझाईबाट वीरगन्जवासी मुक्त हुन चाहन्छन् ।