बजेट ल्याएका पर्साका स्थानीय तहले पनि मन्त्रालयमा पेश गरेका छैनन्
वीरगन्ज, १२ असार । असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट ल्याएका पर्साका स्थानीय तहहरुले पनि अझै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेका छैनन् । पर्साका नीति तथा कार्यक्रम र बजेट ल्याएका मध्य २ वटा स्थानीय तहले मात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेको पाईएको छ ।
पर्साको वीरगन्ज महानगरपालिका र जगरनाथपुर गाउँपालिकाले मात्रै बजेट वेभसाईटमा प्रविष्ट गरेको छ । वीरगन्ज महानगरपालिकाले असार ६ गते नै नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । त्यस्तै जगरनाथपुर गाउँपालिकाले असार १० गते नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । यी दुई पालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएकै दिन मन्त्रालयको वेभसाईटमा बजेट प्रविष्ट गरेका हुन् ।
सबैभन्दा पहिले बजेट ल्याएको बहुदरामाई नगरपालिकाले अहिलेसम्म वेभसाईटमा बजेट प्रविष्ट गरेको छैन । पर्साको पर्सागढी र पोखरिया नगरपालिका, पकहामैनपुर, पटेर्वा सुगौली गाउँपालिकाले पनि बजेट वेभसाईटमा प्रविष्ट गरेको छैन ।
ठोरी र जीराभवानी गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएपनि बजेट भने ल्याउन बाँकी नै छ । सखुवा प्रसौनी, कालिकामाई, धोविनी, विन्दवासिनी र छिपहरमाई गाउँपालिकाले भने अझै नीति तथा कार्यक्रम पनि ल्याउन सकेका छैनन् ।
१ सय ३६ वटा स्थानीय तह रहेको मधेस प्रदेशमा ३४ वटा स्थानीय तहले मात्रै बजेट प्रविष्ट गरेका छन् । १०२ स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।
यसैबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पालिकालाई बजेट विवरण प्रविष्ट गर्न अनुरोध गरेको छ । मन्त्रालयले सबै ७ सय ५३ वटै पालिकालाई परिपत्र गरी आर्थिक वर्ष २०८०/८१ को बजेट सभामा पेस भएको विवरण अनिवार्य रुपमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न अनुरोध गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार पालिकाले आउँदो आर्थिक वर्षको राजस्व र व्यय कार्यपालिकाबाट स्वीकृत गराइ असार १० गतेभित्र सभामा पेस गर्नुपर्ने व्यवस्था छ । सभामा पेस भएको बजेटलाई मन्त्रालयको पोर्टलमा प्रविष्ट गर्न मन्त्रालयले अनुरोध गरेको हो ।
पालिकाले असार १० गतेभित्र आ–आफ्नो सभामा आउँदो वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि केही पालिकाले तोकिएको मितिमा सभामा बजेट पेस गर्न सकेका छैनन् ।