धार्मिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न वीरगन्ज महानगरको अग्रसरता
वीरगन्ज, २ फागुन । काठमाण्डौको पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्ग जस्तै पञ्चमुखी शिवलिङ्ग रहेको काठमाण्डौ बाहेक देशभरमै एक मात्र पिपराको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउनका लागि वीरगन्ज महानगरपालिकाले अग्रसरता लिएको छ।
वीरगन्ज महानगरपालिका वडा नम्वर १४ चिनी कारखाना आवासक्षेत्र परिसरमा रहेको पशुपतिनाथ मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयको सहयोगमा लिदै महानगरले पशुपतिनाथ मन्दिर र मन्दिर परिसरको सौन्दर्यकरण गर्न थालेको छ ।
काशी विश्वनाथका मुख्य पूजारी पण्डित डा. श्रीकान्त मिश्र र जनकपुरधामको जानकी मन्दिरका महन्थ रोशन दासको उपस्थितिमा मन्दिर परिसरमा सोमबार बेलुकी महाआरती पनि सम्पन्न गरेको छ । महाआरतीमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह , उपमेयर इम्तियाज आलम, हिन्दुवादी अगुवा, समाजसेवी, उद्योगी व्यवसायीका साथै स्थानीय पनि उल्लेख्य संख्यामा सहभागि भएका थिए ।
महाआरती अघि मन्दिर परिसरमै भव्य प्रवचनको पनि आयोजना गरिएको थियो । पशुपतिनाथ मन्दिरमा अब हरेक सोमबार साँझ आरती समारोह विश्व हिन्दु परिषदका अगुवा रन्जित सर्राफले बताउनुभयो । वीरगन्जलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगन्ज महानगरपालिकाले अभियान नै सन्चालन गरिरहेको छ । त्यहि अभियान अन्तर्गत नै आवासक्षेत्र भित्रको पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गर्न थालिएको वीरगन्जका मेयर राजेशमान सिंहले बताउनुभयो ।
तराई मधेसमै एक मात्र पशुपतिनाथ मन्दिर सौन्दर्यकरण गरेर यसको पहिचान स्थापित गर्न नेपाल भारत दुबै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर सोमबार बेलुकी महाआरती गरिएको उहाँले बताउनुभयो । काठमाण्डौ स्थित पशुपतिनाथ मन्दिर सम्म जान नसक्ने भक्तजनहरुले यहि मन्दिरमा पुगेर पूजाअर्चना र दर्शन गर्न सक्ने गरि यसलाई मधेस प्रदेशकै प्रमुख धार्मिक स्थलका रुपमा स्थापित गर्ने योजनाका साथ महानगरले काम अगाडि बढाइसकेको मेयर सिंहले बताउनुभयो ।