आजदेखि बडादशैं शुरु, वीरगन्जको गहवामाई मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुईँचो 

आजदेखि बडादशैं शुरु, वीरगन्जको गहवामाई मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुईँचो 

वीरगन्ज, २१ असोज । आज घटस्थापना । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको पर्व दशैँ बिहीबार (आज) देखि सुरु भएको छ । दशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।  बिहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ ।

यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । विजयादशमीको दिन दुर्गालाई चढाएर टीका प्रसाद साथै समृद्धिको प्रतिक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ ।

आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरूपा दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको नेपाल पञ्चाग निर्णायक समितिले जनाएको छ ।

परम्पराअनुसार काठमाण्डौको हनुमानढोका दरबारमा रहेको दशैँ घरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ । यसैबीच आज घटस्थापनाको दिन वीरगन्जको गहवामाई मन्दिरमा भक्तजन र दर्शनार्थीहरुको घूईचो लागेको छ ।

आज बिहानैदेखि गहवामाई मन्दिर माईस्थानमा श्रद्धालु भक्तजनहरुको घुईचो लागेको हो । महानगरको विभिन्न स्थानमा स्थापना गरिएको दुर्गा मन्दिरहरुमा आज घटस्थापनाको दिन पूजा आरधना गरी कलशयात्रा पनि निकालिएको छ ।

कलशयात्रामा महिलाहरुको व्यापक सहभागिता रहेको छ । वीरगन्जको विभिन्न टोलहरुमा दुर्गा मन्दिर स्थापना गरि दुर्गा पूजा गर्ने चलन रहेको छ ।