बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार शुरु 

बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार शुरु 

वीरगन्ज, २५ पुष । बैंक अफ काठमाडौं र ग्लोबल आईएमई बैंकको एकीकृत कारोबार शुरु भएको छ । दुवै बैंक मर्ज भएपछि आजदेखि एकीकृत कारोबार शुरु गरेको हो । एकीकृत कारोबारको प्रधानमन्त्री पुष्पकमल दाहालले आज उदघाटन गर्नुभएको छ ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहेका छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनु भएको छ ।

दुई बैंकहरुको मर्जरपछि कुल ३ सय ६५ शाखा कार्यालय, ३ सय ६७ एटीएम, २ सय ८६ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशका सम्पर्क कार्यालयहरु तथा ४० लाखभन्दा बढी ग्राहकहरु भएका छन् । अरु बैंकहरु पनि गाभिने क्रममा छन् ।

भोली प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंक तथा पर्सि बुधवार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालबीच पनि एकआपसमा गाभिएर एकीकृत कारोबार सुरु गर्ने तयारी छ । हिमालयन बैंक र सिभिल बैंक तथा लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्जरको सम्झौता हुँदैछ ।

आपसमा मर्ज गरेर एकीकृत कारोबार गर्नको लागि आन्तरिक सफ्टवेयरको काम मिलाउन भन्दै मर्जरको तयारीमा रहेका केही बैंकहरुले केही दिन बैंकिङ्ग कारोबार सेवा बन्द गरेका छन् । ठूला बैंकहरुबीच आपसमा मर्ज भएपछि वाणिज्य बैंकहरूको सङ्ख्या घटेर १८ वटामा झर्नेछ ।