सोनाम ल्होछार (मञ्जुश्री सम्वत २८५९) मनाईदै, वीरगन्जमा निकाले तामाङ समुदायले र्याली
वीरगन्ज, ८ माघ । आज सोनाम ल्होसार । तामाङ समुदायले नयाँ वर्षको रुपमा विशेष कार्यक्रम गरी मनाउँदै छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
आजैदेखि सुँगुर वर्ष पूरा भइ मुसा वर्ष सुरु भएको मानिन्छ । ल्होसारका १२ वटै वर्ष पशुपक्षीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाताको भनाइ छ । सोनाम ल्होसारको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।
यस्तै, दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ ।
यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका शीर्ष नेताले पनि सोनाम ल्होसारको शुभकामना व्यक्त गरेका छन् । यसैबीच सोनम ल्होछारको अवसरमा आज वीरगन्जमा पनि शान्ति र्याली निकालिएको छ ।
\भिस्वा स्थित टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिको आयोजनामा वीरगन्जको माईस्थानबाट निकालिएको र्याली घण्टाघर लिंक रोड, बसपार्क, त्रिशुल चोक हुदै भिस्वा डाँडामा रहेको गुम्बामा पुगेर समापन भएको छ । र्याली समापन पश्चात गुम्बामा ल्होछार पूजा शुरु भएको छ ।
बिहान साढे ९ बजेदेखि पूजा अर्चना गरिने र दिउँसो ३ बजेदेखि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको टाँसी साङ थर्वालिङ्ग बौद्ध गुम्बा समितिका अध्यक्ष राम बहादुर लामाले जानकारी दिनुभयो ।