संघीय शिक्षा ऐनमा राखिएको प्रावधानको विरोधमा निजी विद्यालय संचालकहरुले बुझाए ज्ञापनपत्र
वीरगन्ज, २४ साउन । विद्यालय शिक्षा सम्बन्धी कानूनको विरुद्धमा संस्थागत विद्यालयका सञ्चालकहरूले विरोध जनाउदै देशभरका सम्बन्धित निकायहरुमा ज्ञापनपत्र बुझाएका छन् ।
विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोध जनाउँदै वीरगञ्जसहित देशैभरका संस्थागत विद्यालयका सञ्चालकहरू चरणबद्ध आन्दोलनको घोषणा गर्दै आज पहिलो दिन स्थानीय तह, शिक्षा विकास समन्वय इकाई र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका हुन् ।
प्याब्सन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार बुधवार तीन वटै संस्थाले संयुक्त रूपमा विभिन्न निकायमा ज्ञापन पत्र बुझाएका छन् ।
प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आ–आफ्ना सम्पूर्ण दायित्व फर–फारक गरी शैक्षिक गुठीमा रूपान्तरित हुनुपर्ने प्रावधान समावेश गरेपछि निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएकाे प्याब्सन केन्द्रीय सदस्य छेडुप लामाले बताउनुभयो ।
प्याब्सन वीरगञ्जका अध्यक्ष आलोककुमार चौरसिया, एनप्याब्सन वीरगञ्जका अध्यक्ष जियालाल गुप्ता र हिसानका मनिष सिंहद्वारा हस्ताक्षरित ज्ञापन पत्र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम, शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्ण र शिक्षा विकास तथा समन्वय इकाई प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
विधेयकमा राखिएका कतिपय प्रावधानहरू निजी लगानीका संस्थागत विद्यालयहरू प्रति पूर्वाग्रही मात्रै नभएर संविधान विपरित, अव्यवहारिक र अन्यायपूर्ण भएको प्याब्सन वीरगञ्जका अध्यक्ष चौरसियाले बताउनुभयो ।
संशोधन नभएर यथास्थितिमा विधेयक पास भए देशैभरका निजी विद्यालय बन्द गर्न बाध्य हुने हिसानका मनिष सिंहले चेतावनी दिनुभयो । प्याब्सन, हिसान तथा एनप्याब्सनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका थिए ।
घोषणा अनुसार बुधवार पालिका, जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र प्रदेश मन्त्रालयहरूमा ज्ञापन पत्र बुझाइएको प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधानले जानकारी दिनुभयो ।
२५ गते मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते सरोकारवाला पक्षबीच अन्तरक्रिया तथा छलफल गर्ने, २७ गते आ–आफ्ना सङ्गठनमा समीक्षा बैठक गर्ने, २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने र भदौ १ गतेदेखि अनिश्चित कालिन विद्यालय बन्द तथा विद्यालयका सवारी साधनहरू सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यपालिका रहेको एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठले जानकारी दिनुभयो ।