अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित

अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित

वीरगन्ज, १३ बैशाख । सरकारले अर्को आदेश नभएसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ । आईतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र अर्थात् सीसीएमसीको बैठकले देशभर नै सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सीसीएमसी सचिवालयका संयोजक खगराज बरालले जानकारी दिनुभयो ।

हिजोको सीसीएमसीको निर्णयसँगै आजका परीक्षा पनि स्थगित हुने भएका छन् । यस्तै बीरगन्जका विद्यालयहरुमा हिजो आईतबारबाट सुरु भएका सम्पुर्ण परीक्षाहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित भएको छ । कोरोना संक्रमणको अवस्था दिनानुदिन बढ्दै गएको अवस्थामा वीरगन्जका निजी तथा सामुदायिक विद्यालयहरुमा सुरु भएका परीक्षाहरु स्थगित भएका हुन् ।

समुदायमा फैलिएको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै कक्षा ९ सम्मको सबै परिक्षाहरु अर्काे सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । बालबालिकाहरुलाई घरमै सुरक्षित राख्न तथा विद्यालय नपठाउन पनि सरावगीले अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।

महानगरको निर्देशनविपरीत कक्षा अथवा परीक्षा सञ्चालन गरेको पाइऐ कारवाही गरिने पनि सरावगीले बताउनुभयो । वीरगन्ज महानगरले यसअघि नै कक्षा ५ सम्मका कक्षाहरु बन्द गर्न निर्देशन दिईसकेको छ । 

यसैबिच निजी तथा आवासीय विद्यालय संगठन प्याब्सन पर्साले माध्यमिक शिक्षा परीक्षा एसईईको अभ्यास  परिक्षा पनि स्थगित गरेको छ । पर्सा जिल्लामा बढ्दो कोरोनाभाइरस सङ्क्रमणको दरलाई ध्यानमा राखेर बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने जोखिमलाई ध्यान दिएर एसईईको टेस्ट परिक्षा स्थगित गरिएको प्याब्सन पर्साले जनाएको छ ।

प्याब्सन वीरगंज महानगर अध्यक्ष आलोककुमार चौरसियाले अर्को सूचना जारी नभएसम्मका लागि लिन बाकी रहेका विषयहरुको परिक्षा स्थगित गरिएको जानकारी दिनुभयो  । प्याब्सनमा आबद्ध विद्यालयहरुको आकस्मिक बैठकले बाकी रहेका विषयहरुको एसईई टेस्ट परिक्षा स्थगित गरेको चौरसियाले बताउनुभयो ।

उहाँले सबै अभिभावकलाई बालबालिकालाई कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सुरक्षित तरिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै घर भित्र राख्न आग्रह समेत गर्नु भएको छ । पर्सामा चैतको अन्तिम सातादेखि कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या बढ्न थालेपछि अभिभावकले विद्यालय बन्द गर्नदेखि परिक्षासमेत स्थगित गर्न माग गर्दै आएका थिए ।त्यहिी माग अनुसार परिक्षा स्थगित गरिएको चौरसियाले बताउनुभयो ।