वीरगन्ज कलेजका कक्षा १२ का विद्यार्थीको विदाई, जिम्मेवार भएर देश र समाजको सेवा गर्न मेयर सिंहको सुझाव
वीरगन्ज, ६ जेठ । वीरगन्ज कलेजमा अध्ययन गरेको कक्षा १२ का विद्यार्थीहरुलाई शुक्रबार विदाई गरिएको छ । नेपाली सेनाको ब्यारेक नजिक रहेको क्लासिक वंक्वेटमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई विदाई गरेको हो । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुखले युवा विद्यार्थीको साथ र सहयोग विना वीरगन्जको विकास असम्भव रहेको बताउनुभयो ।
उहाँले युवा विद्यार्थीहरु नै समाज र देश निर्माणका जनशक्ति भएकोले आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्न सुझाव दिनुभयो । कक्षा १२ को अध्ययनपछि विश्वविद्यालय तहमा जाने तयारीमा अझ बढी जिम्मेवार हुनुपर्ने बताउदै हो हल्ला र भीडले व्यक्तिको व्यक्तित्व विकास र क्षमता विकास नहुने बताउनुभयो । समाज र देशको विकास युवाहरुको काँधमा रहेकोले व्यक्तित्व विकास भए मात्रै समाजको विकास हुन सक्ने र समाजको विकासले मात्रै देशको विकास सम्भव रहेकोले युवा विद्यार्थी जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दीपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, निजी विद्यालय अर्गनाईजेशन प्याब्सन पर्साका बरिष्ठ उपाध्यक्ष सरोज चौधरी, महानगर अध्यक्ष आलोक चौरसिया, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका मधेस प्रदेश प्रमुख अमितेश यादव, चाटर्ड एकाउण्टेण्ड सुवास खण्डलवाल, विभिन्न शैक्षिक संस्थाका प्रतिनिधि, अभिभावक र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कक्षा १२ को परीक्षा सम्पन्न भएसँगै विद्यार्थीहरुलाई विदाई गरिएको क्याम्पस प्रमुख विनोद गुप्ताले बताउनुभयो । विदाई समारोहमा विद्यार्थीहरुले विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।