वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुलाई तालिम

वीरगन्जका होटल तथा पर्यटन व्यावसायीहरुलाई तालिम

वीरगन्ज, २० जेठ । वीरगन्जमा २ दिने होटल व्यावसाय सम्बन्धि तालिम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, होटल तथा व्यावसायी महासंघ तथा होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साको   आयोजनामा भएको दुइदिने तालिम शुक्रबार सम्पन्न भएको हो ।

वीरगन्जका होटलहरूमा गुणस्तरीय सेवा सुविधाहरू कसरी प्रदान गरेर पर्यटक आकर्षण गराइ पर्यटन प्रबर्द्धन गर्न सकिन्छ भन्ने विषयमा तालिम प्रदान गरिएको होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साका अध्यक्ष हरि पन्तले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले वीरगन्जका होटल व्यावसाय र पर्यटनको मुख्य आधार नै भारतीय पर्यटकहरू नै भएकोले होटलहरूमा गुणस्तरीय, स्वस्थ्य र सफाइमा ध्यान दिन जरूरी रहेको बताउनुभयो ।

वीरगन्जलाई पर्यटनको सहर बनाउन आवश्यक साथ र सहयोग वीरगन्ज महानगरपालिकाको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । ३५ जना प्रशिक्षार्थी सहभागी  दुइदिने प्रशिक्षणमा प्रशिक्षक प्रविण दाहाल र सुजन आचार्यले प्रशिक्षण दिनुभएको थियो ।

होटल तथा पर्यटन व्यावसायी संघ वीरगन्ज, पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा समापन समारोह सम्पन्न भएको थियो । कार्यक्रमको सहजीकरण दिलिपराज कार्कीले गर्नुभएको हो ।

यसअघि तालिमको उदघाटन सत्रको प्रमुख अतिथि वीरगन्ज उद्योग वाणिज्य संघका होटल तथा पर्यटन समितिका संयोजक अनुज रुंगटाले उदघाटन गर्नुभएको थियो ।