वीरगन्जका होटलहरुको स्तरीकरण गरिने 

वीरगन्जका होटलहरुको स्तरीकरण गरिने 

वीरगन्ज, १५ पुस । नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा सञ्चालित होटलहरुको सेवा सुविधामा स्तरीकरण गरिने भएको छ । नेपालको आर्थिक विकासको आधार मध्य पर्यटन क्षेत्र पनि प्रमुख रहेको र प्रदेश २ को पर्यटकीय विकासका लागि वीरगन्ज आधार बन्दै गएकोले वीरगन्जमा सञ्चालित होटलहरुको स्तरीकरण र वर्गीकरण गरिने भएको हो ।

पर्यटन क्षेत्रको विकासका लागि होटलहरुको स्तरीरण र वर्गीकरण आवश्यक रहेकोले स्तरीकरण गरिन लागेको होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जकाअध्यक्ष हरि पन्तले बताउनुभयो । उहाँले नेपालको प्रमुख प्रवेशद्वार वीरगन्ज नै भएकोले वीरगन्जका होटलहरुमा पर्यटकहरुलाई आकर्षित बनाउन स्तरीय होटलहरु र सेवाहरुको बारेमा पहिचान स्थापित गराउन स्तरीकरण आवश्यक देखिएको बताउनुभयो ।

होटलहरुको स्तरीकरण र वर्गीकरणले पर्यटक अर्थात ग्राहक आफैले पनि होटलहरु छनोट गर्न पाउने र सेवा सुविधा रोजाई अनुसार पाउने पन्तको भनाई थियो । यसले होटलहरुको सेवामा प्रतिस्पर्धा बढ्नुको साथै गुणस्तरीय पनि हुने उहाँले बताउनुभयो ।

पर्यटनको पूर्वाधार होटलहरु नै भएकोले यहाँको पर्यटन विकासमा होटलहरुको महत्वपूर्ण भूमिका रहेकोले प्रदेश २ को खाद्यप्रबिधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको आयोजनामा बिहीबार वीरगन्ज क्षेत्रका होटल ब्यवसायीहरुका लागि एकदिने सचेतना मुलक कार्यक्रम आयोजना गरेको हो ।

होटल तथा पर्यटन ब्यवसायीहका लागि लक्षित गरी एकदिने होटलको स्तरीकण तथा नवीकरण गरी लोगो टास्ने अभियानका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले खाद्य र होटल ब्यवसायी बीचको सम्बन्ध नजिक रहेको र होटलमा सफा र सुग्धर खानपिन अतिआवश्यक रहेकोमा जोड दिनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रदेश २ कार्यालयका खाद्य अधिकृत रतनकान्तझाले होटलहरुमा बन्ने खाना र होटलहरुको बातावरणका आधारमा आफूहरुले होटलहरुलाई बर्गीकरण गरी बिभिन्न संकेत चिन्हहरु वितरण गरिएको बताउनुभयो ।