क्यानमाथि प्रश्न – नामिबियालाई जित्दा पनि हाम्रो स्वभाविक उल्लास किन खोसियो ?

सन्दीप लामिछाने भनिसक्दा कुनै बेला प्रतिभाशाली नेपाली खेलाडी, नेपाली क्रिकेट टिमका कप्तान भन्ने विम्ब आउँथ्यो । उनले रचेका एकपछि अर्को सफलताका कथाले नेपालीहरुलाई भावनात्मक रुपमा बलियो देखाएकै हो । तिनै सन्दीपको नाम अहिले पढ्दा, सुन्दा एउटी नाबालिका बलात्कारको अभियोग लागेका अभियुक्तको विम्ब आउँछ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनी पस्दैगर्दा आम समर्थकको भावना विभाजित […]

क्यानमाथि प्रश्न – नामिबियालाई जित्दा पनि हाम्रो स्वभाविक उल्लास किन खोसियो ?

सन्दीप लामिछाने भनिसक्दा कुनै बेला प्रतिभाशाली नेपाली खेलाडी, नेपाली क्रिकेट टिमका कप्तान भन्ने विम्ब आउँथ्यो । उनले रचेका एकपछि अर्को सफलताका कथाले नेपालीहरुलाई भावनात्मक रुपमा बलियो देखाएकै हो । तिनै सन्दीपको नाम अहिले पढ्दा, सुन्दा एउटी नाबालिका बलात्कारको अभियोग लागेका अभियुक्तको विम्ब आउँछ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनी पस्दैगर्दा आम समर्थकको भावना विभाजित देखिन्थ्यो । नेपाली झण्डाको प्रतिनिधित्व गर्ने खेलाडीको गौरवमय विम्बका रुपमा होइन, गम्भीर फौजदारी मुद्दाका प्रतिवादी, अनि क्रिकेट एसोशिएसन अफ् नेपाल (क्यान) को गम्भीर लापरबाहीको फाइदा उठाइरहेका सन्दीपको अनुहार प्रकट भयो ।

नामिवियामाथिको जितले जोकोही नेपाली रमाइरहेको हुनुपर्ने हो । तर जितका बाबजुद सन्दीपको प्रवेशले नेपाली दर्शकहरुको स्वभाविक उल्लास खोसिदिएको छ ।

क्यानलाई प्रश्न छ– के नामिबियामाथि नेपालले रचेको जितमा खुलेर रमाउने अधिकार नेपाली समर्थकलाई छैन ? किन गम्भीर फौजदारी अभियोगमा न्याय निरुपण नहुँदै एक अभियुक्तलाई मैदानमा उतारेका कारण खेल भावना देखाउन पाउने दर्शक चाहनामाथि कुठाराघात गरियो ?

क्यानले पक्कै देखेको हुनुपर्छ– धेरैले सोसल मिडियामा लेखेका छन्, ‘हामीलाई क्रिकेट हेर्न मन छ, तर बलात्कारीको डर छ ।’ यो कुनै आधारहीन आरोप होइन । अनलाइनखबरले यसबारे विगतमा पटक–पटक रिपोर्टिङ गरिसकेको छ । अहिले सन्दीपलाई जोडेर जुन चर्चा भइरहेको छ, विगतमा सन्दीपले पाएका, अनि दिलाएका सफलतामा गौरव गर्न रुचाउने, तर अहिलेको उनीमाथि लागेको अभियोगपछि तत्काल सामाजिकीकरणको विपक्षमा उभिएको जनमतले यस्तो टिप्पणी गरेको हो ।

त्यसैले क्यानउपर नेपाली नागरिकहरुले प्रश्न उठाउन पाउने ठाउँ छ । झट्ट हेर्दा क्यानले सन्दीपलाई राष्ट्रिय टिमबाट खेलाउने निर्णयका पछाडि गम्भीर लापरबाहीमात्रै देखिएको नभई क्रिकेटको निर्णय गर्ने सम्बन्धित निकायकै खराब नियतसमेत झल्कन पुगेको छ ।

नेपाली समाज सहिष्णु छ । तर यसको मतलब यसले पीडितप्रति समभाव देखाउँछ, पीडकप्रति होइन । आधारभूत तथ्य र तर्क भुलेर कसैले सोसल मिडियामा जथाभावी लेख्न थाल्छ भने उसको न्यूनतम मानवीय संवेदना र नागरिक दायित्वमाथि पनि स्वभाविक प्रश्न उठाउन सकिन्छ ।

सन्दीपलाई लागेको आरोप कुनै सामान्य प्रकृतिको होइन, बलात्कारजस्तो जघन्य किसिमको हो, जसका बारे विस्तृतमा पढ्दा, सुन्दामात्रै पनि धेरैको आङ जिरिङ्ग हुन्छ । पितृसत्ताबाट बाहिर नआइसकेको समाजमा यस्ता घटनालाई सामान्यीकरण गर्ने कोशिस हुनेगर्छ । महिलालाई नै दोष लगाउने, सेलेब्रिटीसँग यस्तो भइरहन्छ भन्ने किसिमका चर्चा, अनि गम्भीर मुद्धालाई हल्का ‘गसिप’ को सवाल मान्ने प्रवृत्ति किञ्चित सही होइन ।

विगतमा खेल प्रतिभा देखाएर यो क्षेत्रमै चिनिएका सन्दीपमाथि जुन मुद्दा चल्दैछ, त्यसमा उनले अन्तिम फैसला पाइसकेका छैनन् । त्यसको निर्णयकर्ता अदालत हो ।

मंगलबारको खेल नेपालले २ विकेटले जितेको खेलमा सन्दीपले ३ विकेट लिए र ब्याटिङमा पहिलो बलमै क्याचआउट भए । खेलाडीको रुपमा सन्दीपको भूमिका र नागरिकका रुपमा उनले पूरा गर्नुपर्ने दायित्व र सीमा नितान्त फरक छन् । उनका विगतका योगदानलाई देखाएर राज्यको कानून उल्लंघन गर्दै अमानवीय हर्कत गर्ने छुट उनलाई छैन ।

मुलुकको कानून उल्लंघन गरेको आरोपमा अहिले उनीमाथि राज्य कठोर बनेको हो, खेलाडीको रुपमा होइन । उनी खेलमा सक्रिय हुदै गर्दा कताकता उनीप्रति सहानूभूति बढ्दो छ । सन्दीपविरुद्धको मुद्दामा बहस गर्नुुपर्नेहरु नै मंगलबार महान्यायाधिवक्ता कार्यालयमा उनको खेल प्रत्यक्ष हेरिरहेका थिए ।

यति संगीन आरोप लागेको व्यक्तिले खेलमा दिएको योगदानकै कारण उनले आरोपबाट उन्मुक्ति नपाउन् । उनी मैदानमा प्रवेश गरेको क्षणलाई सामान्य मानेर हेर्न सकिँदैन । सन्दीप लामिछानेलाई अहिलेकै अवस्थामा मैदानमा प्रवेश दिइरहे क्यानमाथिको आम अपेक्षा धुलिसात हुनेछ ।