वीरगन्जका व्यावसायीद्वारा चौथो दिन राष्ट्र बैंकको गेट अगाडि एक घण्टा धर्ना
वीरगन्ज, १३ पुष । नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याज दरका विरुद्ध आन्दोलनमा उत्रिएको उद्योगी व्यावसायीहरुले वीरगन्ज स्थित नेपाल राष्ट्र बैंकको गेट अगाडि एक घण्टा धर्ना दिएका छन् ।
नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै वीरगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनको आज चौथो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजी कर्जा निर्देशिकाको बिरोधमा नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँधेर बिरोध जनाएको सङ्घका उपाध्यक्ष हरिप्रसाद गौतमले बताउनु भयो ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घबाट निस्केको ¥यालीले वीरगञ्ज नगरको परिक्रमा गर्दै राष्ट्र बैंक अगाडि पुगी धर्ना दिएका थिए । बुधबार वीरगन्ज स्थित राष्ट्र बैंकको मूल गेट अगाडि नै जम्मा भएका वीरगन्जका उद्योगी व्यावसायी भन्दै थिए, “हामी राष्ट्र बैंक अगाडि त्यसै भेला भएका छैनौं, हाम्रो बाध्यतालाई राष्ट्र बैंकले सुनोस, राज्यले बुझोस, सडक मात्रै तताउदैनौं, प्रणाली नै फेर्ने समेत हैसियत छ । राज्यले निजीक्षेत्रलाई धमिरा देखेको छ । हामी धमिरा बन्यौं भने के होला त्यो राज्यले सोचोस ।”
उनीहरु भन्दै थिए, कोठाभित्र थुनेर बिरालोलाई हिर्काउने प्रयास नगरोस । यसको परिणाम जे पनि आउ सक्छ भन्दै सरकारलाई चेतावनी नै दिएका थिए । व्यावसायीको चरित्र सडकमा आन्दोलन गर्ने र टायर बाल्ने नभएपनि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति र बैंकहरुको चर्को ब्याजले आफूहरुलाई क्रुर बन्न प्रेरित गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष गणेश लाठले बताउनुभयो ।
धर्ना कार्यक्रममा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ – मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासङ्घका पूर्व अध्यक्ष अशोककुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी सङ्घका अध्यक्ष हरि पन्त, लुब्रिकेन्ट व्यवसायी सङ्घ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी सङ्घ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी सङ्घका अध्यक्ष शंकर कुशवाहा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
शीघ्र चर्को ब्याज दर चालु पूँजी कर्जा निर्देशिकाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गरेका थिए । हाम्रो शान्तिपूर्ण विरोधलाई प्राथमिकताका साथ लिई बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा वक्तहरुले जोड दिएका थिए । यस पश्चात् पनि माग पूरा नभए सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिएका छन् ।
कार्यक्रमका सहजीकरण वीउवासङ्घका मनोज उपाध्यायले गर्नु भएको थियो । बिरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।