निरज पासवान हत्या प्रकरण : हत्यामा संलग्न तीनजना मध्य २ जना पक्राउ
वीरगन्ज, १३ पुष । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का १४ बर्षीय बालक निरज कुमार पासवानको हत्यामा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । संलग्न मध्य एकजना फरार रहेका छन् । अनुसन्धान प्रभावित हुने भएकोले उनको नाम भने प्रहरीले खुलाएको छैन ।
सिर्सिया खल्वाटोलामै रहेको गुरूकुल पन्ना मेमोरियल इंग्लिश बोर्डिङ स्कुलमा कक्षा ८ मा अध्यनरत विद्यार्थी निरजको हत्या संलग्न रहेको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौंका कृष्णा भन्ने २४ बर्षीय श्याम प्रसाद यादव, धोविनी गाउँपालिका वडा नम्बर १ घोडदौडपिप्राका बर्ष २० का दिलिप कुमार पटेललाई पत्रकार गरेको हो ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । अपहरण गरी हत्या गरिएको अभियोगमा तीनजना संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । निरजको शव पुष १० गते वेलुका ५ः०० बजेको समयमा गुरूकुल पन्ना मेमोरियल इ.बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी टंकी भित्रबाट बरामद भएको थियो ।
पक्राउ परेका अभियुक्तलाई पर्सा जिल्ला अदालतबाट अपहरण वा शरिर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर) मा म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक शाहले बताउनुभयो । पक्राउ परेकाहरुबाट फिरौती रकम माग गर्ने गर्न प्रयोग भएको सिमकार्ड सहितको मोबाईल १ थान, मृतकको निलो रंगको जिन्स पाईन्ट, खैरो रंगको पेटी समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
फिरौती रकम असुली गर्ने मंसिर ५ गते अभियुक्तहरूले अपहरित गरिएको बालक निरज कुमार पासवानलाई हात खुट्टा तथा मुखमा पट्टी बाँधेर राखेकोमा बालकले बाँधिएको डोरी फुकाइ भाग्न खोजेपछि अपहरणकारीहरूको पहिचान खुल्न सक्ने डरले हत्या गरेको अनुसन्धानबाट खुलेको पर्साका प्रहरी उपरीक्षक कोमल विक्रा शाहले बताउनुभयो ।
मंसिर ५ गते देखी १४ बर्षको निरज कुमार पासवान हराईरहेको भनेर मंसिर ६ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निरजका बाबु श्रीराम हजरा दुसादले खोजतलासका लागि निवेदन दिएको थियो । घटनाको १२ दिनपछि अपहरित बालकको वुवा श्रीराम हजारा दुसादलाई टेलीफोनबाट ५० लाखको फिरौती रकम माग गरेको जानकारी प्राप्त भएपनि प्रहरीलाई भने मंसिर २५ गते मात्रै जानकारी गराएको थियो ।
अनुसन्धान गर्दै जाँदा निरज कुमार पासवानलाई हत्या गरी गुरूकुल पन्ना मेमोरियल ई.बोर्डिङ स्कुलको पुरानो भवन अगाडी रहेको शौचालयको सेफ्टी टंकीमा शव रहेको सूचना प्राप्त भएपछि गएको प्रहरीले खोजी गर्दा निरजको शव भेटिएको थियो ।