रातभर बाल सुधार गृहमा नै थुनिएका प्रमुख बिहान मात्रै निस्कन सफल
वीरगन्ज, २७ भदौ । वीरगञ्जस्थित बाल सुधार गृहमा भएको झडपका कारण रातभर बाल सुधार गृह भित्रै थुनिनु भएका प्रमुख टिकाकृष्ण काफ्ले आज बिहान मात्रै निस्कन पाउनु भएको छ ।
गएराति बाल सुधार गृहमा रहेकाहरुबीच आपसी विवादका कारण तनाव भएको भनिएपनि यकिन कारण भने अझै खुल्न सकेको छैन । एकपक्षले सुधार गृहका नाईकेका कारणले विवाद भएको भनेका छन् ।
कतिपयले केही दिन अघि मात्रै भक्तपुरबाट ल्याईएका १८ जना किशोरहरु बाल सुधार गृहमा बस्न नमानेर अन्यत्र व्यावस्था गर्नुपर्ने माग गरेर प्रदर्शनमा उत्रिएको भनेका छन् । कतिपयले भने दुई समूहबीचको विवादले झडप भएको भनिएको छ ।
झडपमा ११ जना बाल सुधार गृहका किशोरहरु र ३ जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । घाईतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ । बाल सुधार गृहमा तनाव भएको खबर पाएपछि प्रहरी परिचालन गरिएको थियो ।
प्रहरी उपरीक्षक शाहका अनुसार आज बिहानको अवस्था भने सामान्य रहेको छ ।
त्यसपछि झन् आक्रोशमा आएका किशोरहले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए । बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्ले रातभर बालसुधार गृहमा नै थुनिनुभएको थियो । उहाँ आज बिहान मात्रै बाहिर निस्कन पाएको उहाँले बताउनुभयो ।
सुधारगृहका किशोरहरुको ढुंगामुढा र तोडफोड शुरु भएपछि प्रहरीले बाहिरबाट सुरक्षा घेरा हालेपनि भित्र उनीहरुको वितण्डा रोकिएको थिएन । प्रहरीको बाहिरी घेरा र बाल सुधार गृहका किशोरहरुको प्रदर्शनले बाल सुधार गृहका प्रमुख भने भित्रै फस्नु भएको थियो ।
उहाँले भन्नुभयो, ‘रातभर तनाव भयो । सुत्न सक्ने अवस्था पनि भएन आज बिहान मात्रै बल्ल बाहिर निस्कन सकेँ ।’
यद्यपि अहिले पनि बाल सुधार गृह बाहिर प्रहरी खटाइएको उहाँले जानकारी दिनुभयो । स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको बताईएको छ ।