भूमिहिन सुकुम्वासीलाई लालपूर्जा दिँदा जेल जान परे पनि तयार छु : अध्यक्ष अहमद
वीरगन्ज, २७ भदौ । राष्ट्रिय भूमि अधिकार मञ्चको तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । पर्साको पर्सागढी नगरपालिका वडनिहारमा भएको अधिवेशनको प्रमुख अतिथि भूमि आयोग जिल्ला समिति पर्साका अध्यक्ष तरबरेज अहमदले उदघाटन गर्नुभएको थियो ।
कार्यक्रमको उदघाटन गर्दै उहाँले भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासको व्यावस्थाका लागि वन कार्यालयहरुले अनावश्यक बखेडा झिक्ने गरेपनि भूमिहिनहरको जग्गा प्राप्तीको लागि विचलित नभई काम अगाडि बढाउने बताउनुभयो ।
उहाँले सुकुम्वासीहरुको लागि लालपूर्जा वितरण गर्नका लागि जेल जान पनि आफू तयार रहेको भन्दै नापी कार्यालय पनि लालपूर्जा वितरणमा बाधक बनेको बताउनुभयो ।
उहाँले पर्सागढीका भूमिहिन सुकुम्वासी, दलित सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुका लागि पर्सागढी नगरपालिकामा ३२ वटा लालपूर्जा पहिलो चरणमा वितरण गर्नुपर्ने भएकोले उक्त लालपूर्जा नपाएसम्म कुनैपनि राजनीतिक कार्यक्रममा आफू पर्सागढी नजाने पनि प्रतिवद्धता जनाउनुभयो ।
मञ्चका जिल्ला अध्यक्ष अर्जुन नेपालको अध्यक्षतामा भएको कार्यक्रममा पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक, राष्ट्रिय भूमि अधिकार मञ्चका प्रदेश अध्यक्ष मदन विश्वकर्मा, सचिव अनुप माझी, रौतहट अध्यक्ष चन्द्रमान थिङ्ग, पर्सागढी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुकमान थिङ लगायतको उपस्थिति रहेको थियो ।