पर्सामा १८ दिनमा १८८६ जनामा कोरोना संक्रमण

पर्सामा १८ दिनमा १८८६ जनामा कोरोना संक्रमण

वीरगन्ज, १९ बैशाख । बैशाख १ गतेदेखि १८ गतेसम्ममा वीरगन्जमा १ हजार ८ सय ८६ जना कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । आईतबार राति फेरी १४५ जनामा संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ वटा स्वाबको नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १४५ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोजरोशन दासले जानकारी दिनुभयो ।

१४५ मध्य १०९ जना पर्साका, २६ जना बाराका, ६ जना रौतहट, ३ जना सर्लाही र १ जना महोत्तरीका रहेका छन् । यो सहित पर्सामा बैशाख १ गतेदेखि १८ गतेसम्मा संक्रमित हुनेको संख्या १ हजार ८ सय ८६ पुगेको हो । वीरगन्ज स्थित नारायणी अस्पतालमा बैशाख १ गते देखि बैशाख १८ गते सम्म गरिएको परिक्षणमा १ हजार ८ सय ८६ जनामा संक्रमण भेटिएको हो ।

यो १८ दिनमा २ हजार ७ सय ८३ जनाको स्वाब नमूना परिक्षण गर्दा ६७.६७ प्रतिशत भन्दा बढिमा अर्थात १ हजार ८ सय ८६ जनामा संक्रमण भेटिएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । कोरोनाको दोस्रो लहर शुरु भएपछि शुक्रबार राति वीरगन्जमा एकै दिन सबैभन्दा बढी नयाँ संक्रमित फेला परेको थियो । नारायणी अस्पतालको प्रयोगशलामा २८० जनाको स्वाब नमूना परिक्षण गर्दा, परिक्षण गरिएका मध्ये ६९ प्रतिशतमा अर्थात १९३ जनामा संक्रमण पुष्टि भएको थियो ।

त्यसको अघिल्लो रात थपिएका १९३ संक्रमित मध्ये पर्सा जिल्लाका मात्र १५१ जना छन् । ती मध्ये वीरगन्ज महानगरका मात्रै १३७ जना रहेका छन् । वीरगन्जमा बैशाख १ गते देखि यता थपिएका १ हजार ५ सय ४८ जना संक्रमित मध्ये पर्सा जिल्ला घर भएका १ हजार २ सय ५१ जना छन् । ती मध्ये वीरगन्ज महानगरपालिकाको मात्रै १ हजार १ सय  २३ जना छन् । अरु बारा, रौहतट, सर्लाही, चितवन र बदिया लगायतका जिल्लाका रहेका छन् । अन्य जिल्ला घर भएपनि कामको सिलसिलामा उनीहरु वीरगन्जमा बस्दै आएकाहरु हुन् ।

जिल्ला प्रशासन कार्यालय पर्साका कोभिड फोकल पर्सन विनय श्रीवास्तवका अनुसार पर्सा जिल्लामा हाल सकृय संक्रमितको संख्या १ हजार २ सय १ पुगेको छ । ती मध्ये वीरगन्जका विभिन्न अस्पतालमा जटिल अवस्थाका ९३ जना संक्रमित उपचाररत छन् । नारायणी अस्पतालमा ४८, नेशनल मेडिकल कलेजले बाबा होटलमा सन्चालन गरेको अस्थायी कोभिड अस्पतालमा २३ जना, बयोधा अस्पतालमा १४ जना र गण्डक हस्पिटलमा ८ जना संंक्रमित उपचाररत रहेको श्रीवास्तवले जानकारी दिनुभयो । श्रीवास्तवका अनुसार, पर्सा जिल्लामा हाल १ हजार १ सय भन्दा बढि संक्रमितहरु होमआइशोलेसनमा छन् । यसमा शनिबार राति संक्रमण पुष्टि भएका १४५ जना मध्य होम आईशोलेसन र अस्पतालमा बसेकाहरुको संख्या भने जोड्न बाँकी रहेको छ ।