स्थानीय जनप्रतिनिधिहरुको निस्क्रियताले कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित 

स्थानीय जनप्रतिनिधिहरुको निस्क्रियताले कोभिड विरुद्धको खोप कार्यक्रम प्रभावित 

वीरगन्ज, २४ असार । कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोपको संसारभर माग पुगेको छैन । कोरोना संक्रमण नियन्त्रणको एकमात्र अस्त्र खोप कार्यक्रमका लागि नेपालमा भने जनप्रतिनिधिहरुको निस्क्रियताले प्रभावित भएको छ । केही जनप्रतिनिधिहरुले स्थानीय तहमार्फत नै खोप उपलब्ध गराउन माग गर्दै संघीय सरकारलाई पत्र समेत लेखेका थिए । तर, संघीय सरकार मार्फत नै आएको कोरोना विरुद्धको खोप कार्यक्रममा भने स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुको निस्क्रियताले पर्सामा कोरोना विरुद्धको खोप कार्यक्रम नै प्रभावित भएको छ ।

पर्सामा भेरोसेल खोपको पहिलो डोज लगाउने लक्षित उमेर समूह भन्दा कम खोप लगाउने संख्याले पनि स्थानीय तहमा खोप कार्यक्रमको प्रभावकारिताको प्रचार प्रसार हुन नसकेको पुष्टि भएको छ । पर्सामा ६० देखि ६५ वर्ष उमेर समूहका १२ हजार ४ सय जना नागरिक रहेकोमा १० हजार ८३० भाईल खोप प्राप्त भएको थियो । तर, त्यस मध्य पनि ग्रामीणक्षेत्रका स्थानीय तहहरुमा भेरोसेल खोपको प्रभावकारिताको विषयमा स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुले नागरिकलाई बुझाउन नसक्दा नकारात्मक प्रभाव देखिएको हो ।

पर्सामा जिल्लामा १० हजार ८३० डोज खोप आएपनि ८ हजार ६ सय ९३ जनाले मात्रै पहिलो डोज  खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय पर्साको तथ्यांक छ । ग्रामीण क्षेत्रका स्थानीय तहले खोपको बारेमा प्रचार प्रसारलाई व्यापक बनाउन नसक्दा खोप लगाउनको संख्या कम भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले बताउनुभयो । चीनमा उत्पादन भएको खोपको सीमाक्षेत्रका नागरिकमा गलत धारणाको विकास हुँदा स्थानीय जनप्रतिनिधिहरुले त्यस्ता गलत भ्रमहरु चिर्न नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो ।

पर्साको छिपहरमाई गाउँपालिकामा ९० जनाले मात्रै पहिलो डोजको भेरोसेल खोप लगाएका छन् । छिपहरमाई ५ वटा खोपकेन्द्रमा चारसय भन्दा बढी लक्षित उमेर समूहका नागरिकलाई खोप लगाउनुपर्ने भएपनि नागरिकमा खोपको प्रभावकारिताको विषयमा भ्रम फैलिएर खोप नलगाएको खोप अधिकृत सिंहको भनाई छ । यसमा जनप्रतिनिधिहरुको सहयोग नभएको उहाँले बताउनुभयो ।

कतिपय स्थानीय तहहरुमा लक्षित उमेर समूहमा पर्ने जनप्रतिनिधिहरुले नै खोप नलगाईदिँदा पनि भेरोसेल खोप लगाउन हिच्किचाएको सिंहले बताउनुभयो । भेरोसेल खोप लगाउने सबैभन्दा कम संख्या छिपहरमाई गाउँपालिका नै रहेको छ । गाउँपालिकाका अध्यक्ष मनोज कुमार गुप्ता पूर्व माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधि हुनुहुन्छ । अहिले सत्तारुढ नेकपा एमालेमा प्रवेश गर्नुभएका गुप्ताको गाउँपालिकामै भेरोसेल खोप लगाउने सबैभन्दा कम संख्या रहेको छ ।