संसदमा टेबुल भएको बजेट संसोधन हुनेमा निजीक्षेत्रको अपेक्षा  

संसदमा टेबुल भएको बजेट संसोधन हुनेमा निजीक्षेत्रको अपेक्षा  

वीरगन्ज, २२ साउन । केपी शर्मा ओली नेतृत्वको सरकारले संसद विघटन गरेर अध्यादेश मार्फत ल्याइएको बजेटमा बाराको अन्तराष्ट्रिय विमानस्थल निर्माणलाई प्राथामिकता नदिएपछि निराश बनेका यसक्षेत्रका उद्योगी व्यवसायीहरु नयाँ अर्थमन्त्री नियुक्त भएसँगै यसलाई समावेश गर्नेमा आशावादी रहेका छन् ।

ससंद पुर्नस्थापना भई प्रधानमन्त्री शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अर्थमन्त्रीमा जनार्दन शर्मा ‘प्रभाकर’ नियुक्त भएका छन् । उर्जामन्त्री हुँदा उर्जा संकट समाधान गरेर निजीक्षेत्रमा छाप छोडेका अर्थमन्त्री शर्माबाट वीरगन्ज सहित बारा पर्साका उद्योगी व्यवसायीहरुले उनले बजेटमा केही संसोधन र परिमार्जन गरेर ल्याउनमा आशावादी भएका हुन् । यद्यपि बजेट संसदमा टेबुल भईसकेको अवस्था छ ।

अब यसलाई जस्ताको तस्तै पारति गर्छ कि केही परिमार्जन संसोधन गर्ला भन्नेमा निजीक्षेत्रको चासो बढेको छ । केपी ओली नेतृत्वको सरकारका अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटमा खासै टिकाटिप्पणी र आलोचनाहरु नभएपनि कतिपयले निर्वाचनमुखी बजेट भनेका थिए । अध्यादेश मार्फत बजेट भएकोले पनि कार्यान्वयनमा आशंका गरेका थिए । तर, सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर शेर बहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि बजेट संसोधन हुनेमा निजीक्षेत्रले अपेक्षा गरेका छन् ।

 अर्थमन्त्री जनार्दन शर्मा नियुक्त भएपछि प्रधानमन्त्री शेर बहादुर देउवाले पनि काम गर्ने अर्थमन्त्री भनेर सार्वजनिक समारोहमा नै प्रशंसा गरेका थिए । त्यसैलेपनि वीरगन्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरु अहिले अर्थमन्त्री शर्माले बजेटमा केही सम्बोधन गर्नेमा विश्वस्त छन् । ओली नेतृत्वका अर्थमन्त्री रहेका विष्णु पौडेलले बारामा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल, वीरगन्ज पथलैया औद्योगिक करिडोरको विषयमा केही पनि उल्लेख नगरेपछि वीरगन्ज उपेक्षामा परेको यहाँका उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।

अर्थमन्त्री शर्माले अहिले बजेटको विषयमा सरोकारवालाहरुसँग छलफल र अन्तक्रियालाई पनि जारी राखेका छन् । बजेट संसोधन र परिमार्जन भएमा बारा पर्सा क्षेत्रमा पनि बजेटले सम्बोधन गर्नुपर्ने यहाँको उद्योगी व्यवसायीहरुको माग छ । वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बाराको प्रस्तावित अन्तराष्ट्रिय विमानस्थललाई समेट्नु पर्ने, वीरगन्थ पथलैया व्यापारिक मार्ग र निजगढ काठमाडौं द्रूतमार्गसँग जोडिने राजमार्ग पनि विस्तार गर्नुपर्ने बताए ।

नेपालको भारत तथा तेश्रो मुलुकसँगको पारवहन सेवा यहिबाट बढी हुने र द्रूतमार्ग निर्माणपछि सडकमा चाप बढ्ने हुँदा व्यापारिक मार्गबाट निजगढसम्म पुग्ने सडकको विस्तारलाई पनि जोड दिनुपर्ने राजपालको भनाई छ । वीरगन्ज पथलैया औद्योगिक करिडोरमा निर्माण भएको व्यापारिक मार्गले उद्योगको गेटसम्म नै छोएको र उद्योगहरुबाट निकास गरिएको पानी भने व्यापारिक मार्गको नालामा मिसाउन नदिएकोले समस्या उत्पन्न भएकोले यसलाई पनि छुट्टै व्यावस्थापनका लागि सरकारले व्यावस्था गर्नुपर्ने माग छ ।

वीरगन्ज पथलैया औद्योगिक करिडोरमा औद्योगिक वातावरणको निर्माण, ग्रामीण अर्थतन्त्रसँग जोड्नका लागि ग्रामीणक्षेत्रमा औद्योगिक विकास तथा पूर्वाधार विकासमा पनि बजेटमा समेटिनुपर्ने नेपाली कांग्रेसका नेता समेत रहेका उद्योगी एवं संविधानसभा सदस्य अनिल रुंगटाले बताए ।

उनले प्रस्तावित अन्तराष्ट्रिय विमानस्थलको निर्माण, विशेष आर्थिक क्षेत्र (सेज) लाई पूर्णरुपमा कार्यान्वयन र नारायणी अस्पताललाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउन बजेटको व्यावस्था गरिनुपर्ने रुंगटाले जोड दिए । उनले एकीकृत भन्सार जाँचचौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार (ड्राईपोर्ट) सँग जोडिएको भारतसँगको पहुँचमार्गलाई पनि स्तरोन्नती गर्नुपर्नेमा जोड दिएका छन् ।